१० महिनामा १० हजार ईभी आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा झण्डै १० हजार विद्युतीय कार, जीप तथा भ्यान (ईभी) आयात भएको छ । चालु आर्थिक वर्ष (आव) को वैशाख मसान्तसम्म नेपालमा ९ हजार ८५९ वटा चारपाङ्ग्रे ईभी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालले यस अवधिमा आयात गरेका ईभीको मूल्य २३ अर्ब १० करोड ५७ लाख रुपैयाँ छ ।
यो बीचमा नेपालमा ९ वटा अनऐसेम्बल इभी समेत चीनबाट नेपाल आएका छन् । नेपालमा ईभीहरूमध्ये अधिकांश चीनबाट आएका छन् । यस अवधिमा चीनबाट ७ हजार ३ सय ५३ वटा ईभी आयात भएका हुन् । दोस्रोमा भारतबाट २ हजार ४ सय ११ ईभी आएका छन् । यस्तै, इन्डोनेसिया, कोरिया, जर्मनी, मलेसिया र अमेरिका जस्ता देशबाट पनि ईभी आयात भएको छ ।
ईभी आयातबाट सरकारलाई १० महिनामा १४ अर्ब २५ करोड ११ लाख रुपैयाँ राजस्व आएको छ । सरकारले सन् २०३५ सम्म ९५ प्रतिशत विद्युतीय निजी सवारी पुर्याउने लक्ष्य राखेको छ । राष्ट्रिय निर्धारित योगदान (एनडीसी ३.०) अनुसार विद्युतीय गाडीको सो लक्ष्य भेट्टाउन साढे १२ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने भएको हो । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ वैशाख ३१ गते एनडीसी ३.० स्वीकृत गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादको अवसरमा जेठ ३ गते यसलाई सार्वजनिक गरेका थिए। सरकारले २०३५ सम्म ९५ प्रतिशतसम्म दुईपांग्रे र चारपांग्रे निजी विद्युतीय सवारीसाधन बिक्री गर्ने लक्ष्य राखेको छ। २०३० सम्म ९० प्रतिशत बिक्री पुर्याउने लक्ष्य राखेको सरकारले २०३० सम्ममा सार्वजनिक यातायातको बिक्री ७० प्रतिशत र २०३५ सम्म ९० प्रतिशत पुर्याउने बताएको छ ।
सन् २०२४ सम्म १२.३८ प्रतिशत विद्युतीय निजी सवारी पुगेका छन् । जसमा चारपांग्रे ४६ प्रतिशत र ९.६ प्रतिशत दुईपांग्रेको बिक्री भएको उल्लेख छ । सार्वजनिक यात्रुवाहक सवारीसाधनको २९ प्रतिशत विद्युतीय नै छन् । नेपालमा १९ सिटसम्म विद्युतीय भ्यान र माइक्रो बिक्री भएका छन् । २०३५ सम्म शर्तसहित ९.२ अर्ब डलर लगानी गर्नुपर्ने देखिन्छ । यसअनुसार सन् २०३० सम्ममा ४.४५ अर्ब डलर खर्च गर्नुपर्ने देखिएको छ ।