भाजपा नेता जोलीको दावी : नेपालका ८१ प्रतिशत जनता हिन्दु राष्ट्र चाहन्छन्


२०८२ जेठ ७ बुधबार २२:५० बजे

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता विजय जोलीले नेपालमा ८१.२ प्रतिशत जनताले हिन्दू राष्ट्र चाहेको दाबी गरेका छन्। उनले नेपालमा हिन्दु राष्ट्रका लागि नेपाली जनताको गहिरो भावना रहेको बताएका छन्। आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै नेता जोलीले यस्तो दावी गरेका हुन्। 

इन्स्टिच्युट फर पब्लिक पोलिसी एन्ड पार्टनरसिपको निमन्त्रणामा चार दिने भ्रमणमा रहेका जोलीले राष्ट्रपति रामचन्द्र पौडेल, विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गरेका छन् । उनले आफ्नो भ्रमणको क्रममा नेपाली जनताको भावनालाई बुझ्ने मौका पाएको बताउँदै भने, ‘नेपालका ८१.२ प्रतिशत हिन्दु जनताले हिन्दु राष्ट्र चाहन्छन् भने म त्यसमा साथ दिन तयार छु ।’ नेपालका ८१ प्रतिशत हिन्दु जनताले नेपालमा हिन्दु राष्ट्र चाहने बताउँदै उनले हिन्दु राष्ट्रका लागि प्रयास गर्छन् भने त्यसमा आफ्नो साथ रहने बताए । उनले जनताको यो मूल भावनालाई ध्यानमा राखेमा देशको लोकतन्त्र झन् बलियो हुने बताए । 

यो चार दिनको भ्रमणमा नेपाली जनताको भावना थाहा पाएको बताउँदै उनले यसमा यहाँका राजनीतिक दलले पुनर्विचार गर्ने हो कि भन्ने आशा आफूमा रहेको बताएका छन् ।  उनले सन् २०२१ मा प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनमा प्रभु रामको जन्म भएको भन्ने अभिव्यक्तिलाई स्मरण गर्दै भने, ‘राम मन्दिर निर्माणको सन्दर्भमा ओलीले दिएको निर्देशन मेरो मस्तिष्कमा अझै ताजै छ । नेपाल–भारतको साझा सांस्कृतिक मूल्य मान्यता गहिरो छ ।’ 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि हिन्दु राष्ट्रको पक्षमा अभिव्यक्ति दिइसकेको बताउँदै उनले नेपालको लोकतन्त्र जनताको भावना अनुरूप हिँड्न सके अझ सुदृढ हुने विश्वास व्यक्त गरे । राजनीतिक दलहरूले यसमा पुनर्विचार गर्नुपर्ने सुझाव पनि उनले दिए । नेपाल–भारत सम्बन्धबारे कुरा गर्दै उनले विगतका घटनाहरूलाई स्मरण गरेका छन् । ‘भूकम्पको बेला भारतले सबैभन्दा पहिला सहयोग गर्‍यो । नेपालले भारतलाई पीडा पर्दा साथ दिएको छ,’ उनले भने । पहालगाममा भएको आतंकवादी हमलापछि नेपालले भारतप्रति ऐक्यबद्धता जनाएको घटनाको चर्चा गर्दै जोलीले प्रधानमन्त्री केपी शर्मा ओलीले १२ घण्टाभित्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी समर्थन जनाएको कदम महत्वपूर्ण रहेको बताए ।

भारतको अयोध्यामा राम मन्दिर बनेपछि स्थानीय आर्थिक विकासमा सहयोग पुगेको बताउँदै उनले भने, ‘त्यस्तो विकास नेपालमा पनि सम्भव छ, यदि सांस्कृतिक आत्मपहिचानलाई सम्मान गरियो भने ।’ पहलगाम आतंकवादी हमलाबारे उनले भने, ‘२६ निर्दोष व्यक्तिलाई धर्मको आधारमा मारिएको थियो । ओसामा बिन लादेनलाई अमेरिकाले खोजेर समाप्त पारे जस्तै नरेन्द्र मोदीले पहलगाम आक्रमणमा संलग्न आतंककारीहरूलाई समाप्त पार्नु हुन्छ ।’ नेपालसँगको आत्मीय सम्बन्धप्रति गहिरो सम्मान व्यक्त गर्दै उनले भने, ‘मैले २० वर्षमा २२ पटक नेपाल भ्रमण गरिसकेको छु । नेपाल आएपछि यहाँको माटोको टीका लगाउँछु । मभित्र नेपालसँगको पुरानो सम्बन्धको आभास हुन्छ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७