बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
सोमबार प्रधानमन्त्री ओली र सभापति देउवाबीच कुराकानी गर्ने भने पनि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले नै सभापति देउवालाई ’मलाई सञ्चो भएन, आज भेट नगरौं’ भनेका थिए । प्रधानमन्त्री ओली र सभापति देउवाबीच मंगलबार समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भइरहेको हो । लामो समयदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त हुन सकेको छैन । उनीहरूबीच यस विषयमा पनि कुराकानी हुने भएको छ । गभर्नरमा सभापति देउवाले यसअघि नै अर्थविद् प्रा.डा. विश्व पौडेलको नाम प्रधानमन्त्रीलाई दिइसकेका थिए ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद बैठकले नियुक्त गर्ने व्यवस्था छ । तर गभर्नर सिफारिस समिति बैठक अहिलेसम्म बस्न सकेको छैन । गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ। गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल चैत २४ मा सकिएको थियो । गभर्नरको कार्यकाल सकिनु एक महिनाअघि नै नयाँ गभर्नर सिफारिस प्रक्रिया सुरू गर्नुपर्नेमा ढिलाइ भएको थियो । यसबीच प्रधानमन्त्रीसँगको छलफलमा सुरूमा सभापति देउवाले राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने विषयमा छलफल भए पनि प्रधानमन्त्री ओली तयार भएका थिएनन्, त्यसपछि पौडेलको नाम आएको थियो ।