शोभाकान्त पौडेल सचिवमा बढुवा

काठमाडौं । सरकारले सहसचिव शोभाकान्त पौडेललाई सचिवमा बढुवा गरेको छ। आज (बुधबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले अवकाश पाएपछि सचिव पद रिक्त थियो। निजामती सेवामा ३८ वर्षे यात्रा पूरा गरेका सिंह ५८ वर्षे उमेर हदका कारण अघिल्लो बुधबारदेखि अनिवार्य अवकाशमा गएका हुन् । सिंहको अनिवार्य अवकासपछि रिक्त रहेको सचिव पदमा सरकारले पौडेललाई बढुवा गरेको हो ।
सचिवमा बढुवा भएका पौडेलले भन्सार विभागको महानिर्देशक, धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षलगायतका जिम्मेवारी निर्वाह गरिसकेका छन् । पौडेल यसअघि पनि सचिव बढुवाको सिफारिसमा परेका थिए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत सचिव अर्जुनप्रसाद पोखरेल सेवा निवृत्त भएपछि रिक्त पदमा पौडेलसँगै चन्द्रकला पौडेल र भूपाल बरालको नाम सिफारिस भएको थियो । त्यसबेला मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरमा सिफारिस चन्द्रकला पौडेललाई सचिवमा बढुवा गरेको थियो ।