अर्जुन पोल्याण्ड भनेर रुस गए, युक्रेनसँगको युद्वमा मारिए

काठमाडौं । रूस–युक्रेन युद्वमा थप एक नेपाली मारिएका छन् । रूसी सेनामा रहेका बैतडीको मेलौली नगरपालिका–९ असुरका ४२ वर्षीय अर्जुनदत्त भट्टको युद्वमा मृत्यु भएको हो । एक वर्षअघि रूसी सेनामा भर्ना भएका थिए।
उनी सेक्युरिटी गार्डका लागि पोल्याण्ड जाने भन्दै परिवारमा डाँटेर रूसी सेनामा भर्ना भएका थिए। उनी लामो समयदेखि सम्पर्कविहीन थिए । टीकाटालो गरेर परिवारले अर्जुनलाई २०८० असोज २६ मा बिदा गरेका थिए । छोराको उज्जवल भविष्य र परिवारको आर्थिक अवस्था उकास्न अर्जुन विदेश हानिनु परेको थियो । यही बैशाख २६ गते मात्रै उनको मृत्यु भएको पुष्टि भएको हो।
अर्जुन रुसी सेनामा भर्ना भएपछि सुरुआतमा परिवारसंग सम्पर्क भइरहन्थ्यो । तीन महिनासम्म निरन्तर सम्पर्क भयो। तर त्यसपछि भने अर्जुन परिवारको सम्पर्कमा आएनन्। ‘वारमा युक्रेन जाँदैछु। फोन सम्पर्क गर्न दिँदैन, नआत्तिनु होला। फुर्सद पाए भने सम्पर्क गरिहाल्छु भन्थ्यो,’ दाइ भीम भन्छन्, ‘त्यसपछि उ कहिल्यै सम्पर्कमा आएन ।’ रुस–युक्रेन युद्धमा अर्जुन मारिएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेपछि शनिबार परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ ।
अर्जुनको घरमा श्रीमती र १५ वर्षीय छोरा छन् । छोरा आर्मी स्कुल तेघरीमा कक्षा ९ मा पढ्छन्। अर्जुन नेपाली सेनामा काम गर्थे । संकटकालमा विद्रोही माओवादीसंग युद्ध लडेका उनी आर्मीबाट रिटायर्ड भएपछि घरमै थिए। परिवारका अनुसार उनी ५ वर्षअघि रिटायर्ड भएका थिए। नेपाली सेनामा हुँदा शान्ति सेनामा विदेश गएका थिए। उनै अर्जुन विदेशी भूमिमा युद्धमा ढलेका हुन् । होनाहार युवा गुमाएपछि मेलौली नगरपालिका शोकमग्न छ। परिवार विक्षिप्त छ।