सूर्योदयमा व्यवसायिक पुष्प खेती प्रविधि तालिम

–अतित योङहाङ
इलाम । इलामको सूर्योदय नगरपालिकामा व्यवसायिक पुष्प खेती प्रविधि तालिम सुरु भएको छ। सूर्योदय नगरपालिका जिल्लाकै हरेक क्षेत्रमा अग्रणी नगरपालिका हो । पछिल्लो समय पर्यटकीय नगरको रुपमा मुलुकभर र अन्तर्राष्ट्रियस्तरमा समेत प्रसिद्ध यो नगर विशेष गरी सूर्योदय अवलोकनका लागि प्रसिद्ध छ । नगरभित्रको सुप्रसिद्ध श्रीअन्तु पर्यटकीय क्षेत्र र कन्याम चियाबारी यस नगरको प्रमुख पर्यटकीय क्षेत्र हो ।
खासगरी चियाले प्रसिद्ध यो नगर अलैंची, दूध, आलु, इस्कुस लगायतका नगदेबालीका लागि पनि चर्चित छ । आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक तथा पर्यटनको विकासलाई गुरु योजना निर्माण गरी तीब्र रुपमा अघि बढेको यो नगरको प्रमुख विशेषता कृषि र पर्यटन नै हो । देशको एक मात्र अलैंची विकास केन्द्र पनि यही नगरमा छ । त्यसरी नै यो नगरले मुलुकमै पहिलो पटक चिया प्रशोधन केन्द्र समेत स्थापना गर्न सफल भएको छ।
कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको यो नगरमा पुष्प व्यवसायिहरुको लागि समेत सम्भावना बढ्दै गएको छ । पुष्प व्यवसायको विकासका लागि पुष्प व्यवसायीहरुलाई तालिम र पुनर्ताजकीका कार्यक्रमहरु बाक्लो हुँदै गएको छ । यसै सन्दर्भमा बुधबार व्यवसायिक पुष्प खेती प्रविधि तालिम सुरु भएको छ ।
कृषि व्यवसाय प्रबर्द्धन सहयोग तथा तालिम केन्द्र कोशी प्रदेश झुम्काले आयोजना गरेको तालिम ६ दिनको रहनेछ । तालिममा २८ जना सूर्योदय नगरपालिका र इलाम जिल्लाका विभिन्न पालिकाबाट सहभागी छन् । कृषि ज्ञान केन्द्र इलाम र फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) इलामले संयोजन तथा सहयोगमा हुने यो तालिमको हिजो उद्घाटन भएको छ । फिक्कलको अलैंची विकास केन्द्रमा यो तालिम सञ्चालन भईरहेको छ ।
तालिमलाई फ्यानका केन्द्रीय तालिम विभागका दिलिप वादे र फ्यान सहकारी संस्था काठमाडौंका विश्वमणी पोख्रेलले सहजीकरण गर्दैछन् । थ्यौंरी र प्राक्टिल दुबै वेशमा हुने यो तालिममा अलैंची विकास केन्द्र वागवानी विकास अधिकृत अनुपा सुवेदी र तालिम संयोजक समेत रहेको झुम्काका प्रतिनिधि मनकुमार राईले समेत सहजीकरण गर्नेछन् ।
यो तालिम मागमा आधारित तालिम हो । तालिम केन्द्र झुम्काले मागमा आधारित तालिम अन्तर्गत मात्र यो आर्थिक वर्षमा ८ वटा विभिन्न विधाका तालिम आयोजना गरेको संयोजक राईले जानकारी दिए । यसभन्दा अघि मिनिटिलर, पावर टिलर मर्मत सम्बन्धि तालिम, बीउ उत्पादन सम्बन्धि अभिमूखिकरण तालिम, तरकारी तथा फलफुल उत्पादन तथा प्रशोधन सम्बन्धि तालिम आयोजना गरिएको राईले जानकारी दिए । फ्यान इलाम शाखाले समेत वर्षेनी तालिम तालिमहरु आयोजना गर्दै आइरहेको छ ।
गत वर्ष मात्र कृषि ज्ञान केन्द्र इलामसँगको सहकार्यमा फूल नर्सरीसम्बन्धी आधारभूत तालिम सम्पन्न गरेको थियो । त्यस्तै एन्जेलिया क्यामेलियासम्बन्धी तालिम समेत नेदरल्याण्डकी प्रशिक्षकको सहजिकरणमा इलाम सदरमुकाममा तालिम आयोजना गरेको थियो । तालिममा नेपालमा पुष्प व्यवसायको अवस्था, सम्भावना, चूनौती, व्यवसायमा प्रविधिको प्रयोग, इलाम जिल्लामा पुष्प व्यवसायको अवस्था र बजारीकरण, पुष्प व्यवसायको प्रबद्र्धन विषयमा केन्द्रित रहेर प्रशिक्षण गरिने तालिम संयोजक राईले जानकारी गराए ।
तालिमलाईलाई एक समारोह बीच उद्घाटन गरिएको छ । फ्यानका जिल्ला अध्यक्ष हेमान तामाङको अध्यक्षतामा भएको भएको कार्यक्रमलाई प्रमुख अतिथि समेत रहेका फ्यानका केन्द्रीय अध्यक्ष राजेशभक्त श्रेष्ठले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा प्रमुख अतिथिसँगै फ्यान प्रदेश संयोजक सीताराम लामिछाने, वागवानी विकास अधिकृत अनुपा सुवेदीले पुष्प व्यवसायको चर्चा गर्दै शुभकामना दिएका छन् । कार्यक्रममा फ्यान इलामका संस्थापक अध्यक्ष बुद्धमाया सोङमी र निवर्तमान अध्यक्ष सावित्रादेवी राई, वर्तमान कोषाध्यक्ष रिता लेप्चा लगायत कार्यमसमिति सदस्यहरुको समेत सहभागि रहेको छ ।
तालिममा सहभागीहरुलाई दैनिक भत्ता तथा टाढाबाट आएकाहरुलाई यातायातको व्यवस्था गरिएको छ । साथै टाढाका सहभागिलाई आवासको समेत व्यवस्था रहेको फ्यानका फ्यान इलामका उपाध्यक्ष रञ्जिता जिमीले जानकारी दिए । तालिम आगामी २९ गते सम्म सञ्चालन हुनेछ ।