राप्रपालाई प्रचण्डको चुनौती : वीरेन्द्रको वंशनाश गर्ने आँखै अगाडि छन्, छानविन गर्ने आँट छ ?

‘जेठ १५ गते आन्दोलनको दुस्सहास नगर्नू’


२०८२ बैशाख २८ आइतबार १०:३५ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५८ सालको नारायणहिटी दरबार हत्याकाण्डको छानबिन गर्ने प्रस्ताव ल्याउन राप्रपालाई चुनौती दिएका छन्।

नक्कली राजाको पक्षमा बोल्नेहरू ‘रियल’ राजा (स्वर्गीय वीरेन्द्र) को हत्यारा पत्ता लगाउन मौन बस्नु गम्भीर विषय भएको उनले बताएका छन् । लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको अधिवेशनलाई आइतबार धरानमा उद्घाटन गर्दै प्रचण्डले दरबार हत्याकाण्डको छानबिन गरे अहिले पनि हत्यारा पत्ता लाग्ने बताएका हुन्। 

‘राजसंस्था चाहिन्छ भन्ने राप्रपाका साथीहरू त्यत्रो भयानक दरबार हत्याकाण्डको छानबिनको प्रस्ताव ल्याउन सक्नु हुन्छ ? भयानक हत्याकाण्डको जिम्मेवार को हो ?’, प्रचण्डले भने, ‘जनताको मनमनमा क्लियर छ । सही छानबिन गर्ने हो भने हत्यारा आँखा अगाडि छन् । प्रमाणित गर्न गाह्रो छैन।’ जनताले पत्याएका राजा वीरेन्द्रको हत्यारा पत्ता लगाउन माग नगर्नेहरू नक्कली राजावादी भएको प्रचण्डले आरोप लगाए।  

‘राजावादी आन्दोलन गर्ने साथीहरूलाई प्रश्न छ, ‘तपाईहरू दरबार हत्याकाण्डको छानबिन गर्न प्रस्ताव गर्नु हुन्छ ? त्यसको छानबिन गरौं भन्ने आँट छ ?’ उनले भने, ‘तपाईहरूले ल्याउने भनेका राजा नक्कली राजा हुन्, तपाईंहरूले बोल्नु भएको छ, रियल राजाको हत्यारा पत्ता लगाउन माग नगर्ने ? तपाईहरू पनि नक्कली हो।’ प्रचण्डले जेठ १५ गते संविधानलाई चुनौती दिने दुस्साहस गर्न लागेको भन्दै यसलाई माओवादीले रोक्ने चेतावनी दिए। 

‘चैत्र १५ गते हामीले त्यो षडयन्त्रका विरुद्ध एक लाखलाई काठमाडौंमा उतारेका थियौं। तीनकुनेमा हत्यारा मण्डले गुण्डाहरू आतंकमा गए, राजावादीको कथित आन्दोलन भनेको के हो ? जनताले बुझ्न पाए’, प्रचण्डले भने, ‘फेरि जेठ १५ देखि बेलुनमा हावा भर्ने कुरा गर्दैछन् । त्यस्तो दुस्साहस नगर्न चेतावनी दिन्छु कथित राजावादीलाई ।’ प्रचण्डले राप्रपालाई प्रश्न गर्दै भने, ‘सदनभित्र सुविधा लिने अनि संविधानको विरोध गर्ने अधिकार प्राप्त गर्नु भएको छ, हिजोको राजशाहीमा त्यो अधिकार थियो ?’

‘सुनारको सय चोट, लोहारको एकै चोट भने जस्तो एक चोट हामीले हानेपछि उनीहरूको बेलुन फुटेको छ,’ प्रचण्डले चेतावनी दिँदै भने, ‘अहिले फेरि अर्को बेलुनमा हावा भर्ने रे जेठ १५ गतेदेखि । खबरदार, त्यो हुनेवाला छैन।’ प्रचण्डले नेपालका उत्पीडित, वर्ग, जाति, क्षेत्र समुदाय, जो पहिचान र अधिकारको चेतनाद्वारा जागेको र कसैले पनि जागेको शक्तिलाई रोक्न नसक्ने भनाइ राखे ।

‘नेपालका उत्पीडित, वर्ग, जाति, क्षेत्र समुदाय, जो पहिचान र अधिकारको चेतनाद्वारा जागेका छन्, जागेका जनतालाई कुनै शक्तिले पनि रोक्न सक्ने छैन । नेपाली जनता विजयी हुनेछन् । त्यो दुस्साहस नगर्न चेतावनी दिन चाहन्छु, कथित राजावादीहरूलाई,’ प्रचण्डको चेतावनी छ। गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनले राजावादीहरू अझै उस्तै हत्यातर्फ नै उद्धत देखिएको प्रचण्डको आरोप थियो।

‘तीनकुनेमा एउटा वितण्डा देखियो राजावादीहरूको। मैले त त्यतिबेलै भने १२ वर्ष कुकुरको पुच्छर ढुंग्रामा राखेपनि बांगाको बांगै भनेको जस्तो। ती हत्यारा, मण्डले गुण्डाहरू अहिले पनि उही मण्डले गुण्डागर्दी हत्या, आतंकमा नै गए। त्यसकारण जनतालाई छर्लङ्ग भयो,’ प्रचण्डले भनेका छन्, ‘देशभरी के हो राजावादीको कथित आन्दोलन भनेको के हो ? माओवादी लगायत समाजवादीहरूले गणतन्त्र र समाजवादको पक्षमा जाने भएको के हो ?’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७