विवाहको विषयमा झडप : बेहुलाका बुबाको हत्या गरेर फरार व्यक्ति पक्राउ

पर्सा । पर्सामा विवाह कर्म सकिएपछि बेहुली बिदा गर्न नमानेको विषयमा भएको झडपमा बेहुलाका बुबाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साकै पोखरिया नगरपालिका–५ का ३६ वर्षका सिकेन्द्रप्रसाद चौहान छन्। पोखरिया नगरपालिका ६ श्रीसिया बस्ने शंकर प्रसाद महतो चाइका छोरा ३३ वर्षका धर्मेन्द्रप्रसाद चौहान र पोखरिया नगरपालिका–५ सतवरियाका सुभाषप्रसाद चौहानको छोरी निशाकुमारी चौहानको विवाहमा दुई समूहको झडप भएको थियो ।
२०७६ वैशाख ४ गते भएको विवाहमा सबै कार्य सकिएपछि बेहुली बिदा गर्न नमानेको भन्दै दुई पक्षबिच विवाद भएको थियो । सोही विषयको विवादमा २०७९ वैशाख ९ गते दिउँसो २ बजे पोखरिया नगरपालिका–४ वाल उद्यान अंग्रेजी बोर्डिङ स्कुलको प्राङ्गणमा झगडा भएको थियो । झडपमा बेहुलाका बुबा शंकरप्रसाद महतो चाईको टाउकोमा गम्भीर चोट लागेको थियो ।
उपचारको क्रममा २०७९ असार ११ गते सहिद गंगालाल अस्पताल काठमाडौँमा उनको मृत्यु भएको थियो। बेहुला पक्षबाट दिएको किटानी जाहेरीका आधारमा प्रहरीले तीन वर्षपछि सिकेन्द्रलाई पक्राउ गरेको हो । पोखरिया नगरपालिका–५ सतवरियाबाट उनी पक्राउ परेका हुन् । उनलाई पहिलो पटक ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी किशोर लम्सालले बताएका छन् ।