सामाजिक बन्धनबाट मुक्त हुने ‘थच्याङ’ हिमाली संस्कृति

–सुन्दरकुमार थकाली
मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ ताङ्वेमा बसोबास गर्ने ताङ्वे गुरुङ समुदायको थच्याङ मौलिक संस्कृति हो । थच्याङ संस्कृति कुनै पर्व नभई व्यक्तिको उमेर हद कट्यो भन्ने सन्देश प्रवाह गर्ने संस्कार हो । ताङ्वे गुरुङ समुदायमा ५७ वर्ष कटेपछि त्यस्ता व्यक्तिले स्वेच्छिक रूपमा थच्याङ गर्छन् ।
‘थच्याङ’ को शाब्दिक अर्थ सामाजिक बन्धनबाटमुक्त हुनु हो । यो संस्कृति हिमाली भेकका ताङ्वे गुरुङ समुदायको सदियौंदेखि चल्दै आइरहेको पुरानो सांस्कृतिक प्रचलनका रूपमा लिने गरिएको छ । मुस्ताङमा अझै पनि मुखिया प्रथा विद्यमान छ । मुखियाको अगुवाइमा हरेक सामाजिक कामकाज सम्पन्न हुने गर्छ । गाउँ समाजको बैठक, भेला, खेतीपातीको काजदेखि गाउँमा हरेक कामका सूचना प्रवाह गर्ने कटुवाल (छो) लगायतको काम आलोपालो रूपमा समाजमा बस्नेले गर्नुपर्ने हुन्छ । समाजले तोकेको जिम्मेवारी पूरा नगरेमा वा कुनै कार्यहरूमा अनुपस्थित भएमा समाजलाई जरिवाना तिर्नुपर्ने हुन्छ ।
समाजले तोकेको यस प्रकारका जिम्मेवारीबाट छुटकारा पाउन ताङ्वे समुदायका गुरुङले ५७ वर्ष पुगेपछि थच्याङ गर्ने प्रचलन अझै जीवन्त रहेको ताङ्वे समाजकी अगुवा संगीता ताङ्वे गुरुङले जानकारी दिइन्। ‘हाम्रो समाजमा ५७ वर्ष नपुगिकन थच्याङ गर्न पाइँदैन, थच्याङ गरेपछि सामाजिक कार्यबाट मुक्त भयो भन्ने सन्देशसहितको संस्कृति हो’, गीता ताङ्वे गुरुङले भनिन्, ‘गाउँले बोलाएको र तोकेको जिम्मेवारीबाट थच्याङ गर्ने व्यक्तिमुक्त हुन्छ, यद्यपि स्वेच्छिक रूपमा काम गर्ने व्यक्तिलाई थच्याङले अवरोध पार्दैन ।’ उनका अनुसार ताङ्वे समाजमा ५७ वर्ष पुगेको उत्सव थच्याङ सबैका लागि अनिवार्य हुँदैन ।
यो समुदायमा सक्नेले थच्याङ गर्छन्, नसक्ने व्यक्तिलाई थच्याङ गर्नुपर्छ भन्ने अनिवार्य नहुने ताङ्वे समाजकी अगुवा संगीताले उल्लेख गरिन् । उनका अनुसार थच्याङ व्यक्ति र परिवारसँग जोडिएको एक पृथक संस्कृति हो । पहिला-पहिला बिहेबारी धुमधामले गर्न नसकेकाहरूले जीवनको उत्तराद्र्धमा थच्याङ संस्कृतिमार्फत उत्सवका रूपमा मनाउने परम्परा रहेको समाजकी संगीताले जानकारी दिइन् । ‘यो प्रचलन ताङ्वे गुरुङ समुदायमा मात्रै सीमित छैन । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका १९ वटै गाउँका गुरुङ समुदायले स्वेच्छिक रूपमा ५७ वर्ष कटेपछि थच्याङ पर्व मनाउने प्रचलन छ’, उनले भनिन् ।
यो संस्कृति गर्दा कुलदेवताको पूजा गर्ने प्रचलन छ । थच्याङ दुई दिनसम्म चल्छ । यस अवधिमा हिमालको कुलदेवतादेखि समुन्द्रभित्रसम्म सांस्कृतिक प्रचलनअनुसार गीत गाउँदै बिदा माग्ने गरिन्छ । संसारिक दुनियाँको प्राणी जगत्, वनस्पतिलगायत छुटकारा पाउने संस्कृति प्रचलन थच्याङ हो। थच्याङ गर्ने व्यक्ति र परिवारलाई गाउँ समाजले ठेकीमा छ्याङ (रक्सी) र खादा लगेर पहिलो आर्शिवाद दिने गरिन्छ।
त्यसपछि ताङ्वे समुदाय र अन्य साथीभाइ इष्ट्रमित्रहरूले खादा लगाइदिएर आर्शिवाद दिने प्रचलन रहेको संगीताले उल्लेख गरिन् । ‘आर्शिवाद दिँदा पुरुष व्यक्ति ९९ वर्ष र महिला व्यक्ति ८९ वर्ष बाँचोस् भन्ने कामना गरिन्छ । ताङ्वे समाजमा बिहेबारी गर्दा पुरुषभन्दा महिलाको उमेर १० वर्ष कम हुनुपर्छ भन्ने सांस्कृतिक मान्यता छ’, उनले भनिन्। थच्याङको दोस्रो तथा अन्तिम दिन समापन हुँदा ५७ वर्ष पुगेका व्यक्ति र उहाँका परिवारलाई घोडामा चढाएर गाउँ परिक्रमा गराइन्छ । घोडामा चढाउँदै समाज र सबैसामु सामाजिक कामबाट मुक्त भएको सन्देश दिने थच्याङ संस्कृतिको मुख्य विशेषता रहेको उनले बताइन्।
यसैबीच, सोमबार मुस्ताङको जोमसोममा थच्याङ संस्कृति झल्किने गरी परिक्रमा गरिएको छ । समाजका ५७ वर्ष कटेका व्यक्तिको बिदाइमा कुलदेवतालाई सम्झदै ‘जीवनको गतिशील कर्मबाट मुक्त भयो’ भन्दै ताङ्वे सांस्कृतिक गुरुङ भाषामा गीत गाउँदै पुरुष र महिलाले गाउँ परिक्रमा गराइएको हो ।
ताङ्वे समुदायले थच्याङ गर्दा स्वदेश तथा विदेशमा बस्ने सबै समुदायका मानिस एक ठाउँमा भेला हुने भएकाले यसले छरिएर रहेका समुदायलाई एकापसमा जोड्ने पुलको काम गरिरहेको स्थानीय देवसिंह ताङ्वेले जानकारी दिए। उनका अनुसार यो संस्कृतिमा समुदायका महिला तथा पुरुष स्थानीय मौलिक वेषभूषा र गरगहना लगाएर चिटिक्क सजिसजाउ हुने गर्दछन् । नाचगान गरेर आपसमा रमाइलो गरी यसलाई उत्सवका रूपमा मनाउने प्रचलन रहेको उनको भनाइ छ । रासस