संसदमा सुहाङले उठाए वसन्त नेम्वाङको जिल्लाका बिकासका समस्या

काठमाडौं । सत्तारुढ नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले सदनमा आज छिमेकी जिल्ला पाँचथरका विकासे मुद्दा उठाएका छन् । पाँचथरबाट निर्वाचित वसन्त नेम्वाङ गत वर्ष माघमा बिरामी परेपछि संसद बैठकमा अनुपस्थित छन् । उनी अझै नियमित उपचारमै छन् ।
आज शून्य समयमा बोल्दै इलाम–२ का सांसद सुहाङले भौतिकमन्त्री हुँदै वसन्त नेम्वाङको पहलबाट २०७५ सालमा ठेक्का लागेर शिलान्यास गरिएको राँके–रवी–भेडेटार सडकको कालोपत्रे सुस्त भएको विषय ध्यानाकर्षण गराएका छन् । यो सडक पाँचथर, इलाम, धनकुटा र मोरङ जिल्लालाई सञ्जालमा जोड्ने सामरिक महत्वको हो । त्यस्तै पाँचथरकै गौरवको योजना फिदिम रंगशाला शिलान्यासको ५ वर्षसम्म पूर्णता नपाउँदा खेलकुदको विकास र युवाको ऊर्जाशील समय सदुपयोग हुन नसकिरहेको सुहाङले बताएका छन् ।
‘बाढीले फेमेखोलाको पक्की पुल बगाएपछि अवस्था उस्तै छ, यथाशीघ्र बनेन भने फालेलुङ गाउँपालिका र फिदिम नगरपालिकाअन्तर्गतका तीन वडाले बर्खामा थप कस्ट भोग्ने देखिएको छ’, उनले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए । इलाम र पाँचथर आपसमा जोडिएको र छिमेकी जिल्लाका विकासे गतिविधिको सम्बन्ध आफ्नो जिल्लासँग समेत हुने भएपछि यी विषय उठान गरेका हुन् ।