मेयरले कुटे अधिकृत, कर्मचारी आन्दोलित

बारा । मधेश प्रदेशस्थित स्थानीय निकायमा कतिसम्म बेथिती बढेको छ भने त्यसको उदाहरण बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको अवस्थाले देखाइरहेको छ। सिम्रौनगढका मेयरको मौखिक आदेशमा लाखौंको भुक्तानी नदिँदा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरिएको घटना सार्वजनिक भएको छ । यसअघि पनि मेयरको स्वार्थ पूरा नहुँदा त्यहाँका योजना प्रमुखलाई समेत मेयरका छोरा र समर्थकहरुले कुटपिट गरेका थिए ।
कानुन विपरीत बिना शीर्षक भुक्तानी नगरेपछि मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाललाई कुटपिट गरेका हुन् । गत १६ गते आदर्शकोतवाल गाउँपालिका कोतवाली चोकस्थित जानकी आयल नजिकै निजी निवासमा मेयर कलवारले बोलाएर दुर्व्यवहार गरेको अधिकृत जयसवालले बताएका छन् । मौखिक आदेशको भरमा कानुनविपरीत रकम भुक्तानी गर्न नमानेपछि मेयर कलवार र उनका समर्थकले हातपात गरेको पीडित अधिकृत जैसवालले दुःखेसो पोखेका छन् ।
कुटपिटको विषय लिएर प्रशासकीय अधिकृत जयसवालले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गराएका छन् । सो घटनाको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारीहरूले नगरपालिकाको सम्पूर्ण सेवा ठप्प पारेका छन् भने नगरपालिकाद्वारा प्रदान गरिने दैनिक काम लिएर जाने सेवाग्राहीहरु रित्तो हात फर्कन बाध्य भएका छन् ।
यस बर्ष लागेको बिश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलामा अतिथि सेवालगायत नगरको सरसफाई शीर्षकमा कार्यपालिका बोर्डको बैठकले १० लाख रुपैयाँ छुट्याएको थियो । तर, मेला शीर्षकमा मेयर कलवारले २७ लाख रुपैयाँ भुक्तानी गर्न पटक–पटक दवाब दिँदै आएका थिए । त्यसैगरी बोर्डको निर्णय बिना वृक्षारोपण शीर्षकमा १५ लाख, सिम्रौनगढ ऐतिहासिक समारोह शीर्षकमा १० लाख र बाटो सरसफाइमा १९ लाख रुपैयाँ भुक्तानी गर्न मेयर कलवारले दवाब दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले बताए ।
गत १६ गते बिहान १० बजेदेखि मेयर कलवार र सिम्रौनगढ समारोहको अगुवा महिला ममता शर्माले पटक–पटक फोन गरेर सरसल्लाह गर्न भनेर मेयरको निवासमा बोलाएका थिए । मेयरसँग छलफल गर्न उनको घरमा जाँदा ममता शर्माको १० लाख लगायत ७१ लाख रुपैयाँको भुक्तानी गर्न मेयर कलवारले पुनः दवाव दिएको थियो । ‘मेला शीर्षकमा मात्र १० लाख रुपैयाँ छुट्याइएको छ अरु कुनै शीर्षकको रकम छैन, बिना कानुनी प्रक्रिया पूरा गरी भुक्तानी कसरी दिने भनेर मैले जवाफ दिए पछि मेयर कलवार र उनका समर्थकले अन्धाधुन्ध कुटपिट गरे,’ अधिकृत जैसवालले भने ।
सिम्रौनगढ नगरपालिकाकी उपमेयर नजमुसेहरले मेयर किशोरी प्रसाद कलवारको नगरपालिका सञ्चालन गर्ने मनसाय नै नरहेको आरोप लगाएकी छिन् । मेयर कलवारले भ्रष्टाचार गर्न नगरका कर्मचारीलाई आफ्नो घरायसी नोकरको जस्तो व्यबहार गर्ने गरेको बताइन् । ‘मेलाको लागि छुट्याइएको भन्दा बढी रकम प्रशासकीय अधिकृतले कसरी र कहाँबाट दिन्छ ? सरसफाइमा नेपाल प्रहरी सशस्त्र प्रहरीलाई र केही अतिथिलाई पानी ख्वाउन १९ लाख कसरी खर्च भयो ?’ उनको प्रश्न छ । जसका कारण कानुन बिपरित भुक्तानी नदिएकै कारण मेयर र उनको समर्थकले प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेको उपमेयर सेहरले दाबी गरिन् । सो कुटपिट पछि अधिकृत जैसवाल भाग्छन् र मेयर कलवारले आफ्नो पकेटका एक जना अधिकृत ल्याएर करोडौं कुम्ल्याउने दाउमा रहेको पनि उनको आरोप छ ।
यसरी मेयर र उनका समर्थकले कुरा नमान्दा एक महिना अघि योजना प्रमुखलाई समेत हातपात गरेको उपमेयर नजमु सेहरले बताएकी छिन् । मेयरका छोरा र उनको समर्थक योजना प्रमुख नन्दकिशोर साहसँग जथाभावी कार्यादेश मागेको र नदिएपछि अफिसको एकथान कम्प्युटर तोडफोड गर्नुका साथै कुटपिट गरेको उनले जानकारी दिइन् । अधिकृत कलवारलाई कुटपिट गरी मेयर कलवार अर्को अधिकृत ल्याउन मन्त्रालय गएका छन् । तर अब बजेट कार्यान्वयन गर्न दुई महिना मात्र समय बाँकी छ । मेयरले नयाँ प्रमुख प्रशासकीय अधिकृत ल्याउँछ भने उनलाई नगरको गतिबिधि बुझ्नै एकमहिना लाग्छ यस्तोमा सबै रकम फ्रिज हुनुको बिकल्प नभएको उपमेयर सेहरको भनाइ रहेको छ ।
केही दिन अघि जिल्ला समन्वय समितिका सभापतिको रोहवरमा असार मसान्तसम्म नगरको प्रमुख प्रशासकीय अधिकृतमा हरिओम जैसवाललाई नै रहन दिने साउनमा अर्को अधिकृत ल्याउने छलफल भएको थियो तर जैसवालले भ्रष्टाचार गर्न जथाभावी भुक्तानी नदिएको कारण मेयरले मनपरी गरिरहेको उपमेयर सेहरले खुलासा गरेकी छिन् । नगर कार्यपालिका बोर्डमा रहेका २१ जनामध्ये २० जना आफूसँग भएपनी मेयर कलवार एक्लै आफ्नो निजी सम्पतिको जस्तो नगरको रकम लुट्न खोजेको उपमेयर सेहरले दाबी गरिन् ।
आफ्नो ब्यक्तिगत स्वार्थ पूर्तिका लागि प्रशासकीय अधिकृतलाई कुटपिट गर्ने मेयर कलवारविरुद्ध कडा कारबाहीको माग गर्दै नगरका कर्मचारीहरु आन्दोलनमा छन् । आन्दोलित कर्मचारीहरूले दोषीलाई कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । मेयर किशोरीप्रसाद कलवारसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।