नारायणी अस्पतालमा पौने दुई करोड भ्रष्टाचार, तत्कालीन मेसुसहित नौं जनाविरुद्ध मुद्दा

पर्सा । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले नौं जना र ठेकेदार कम्पनीमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ। तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुर समेत नौं जना र लुम्बिनी–मिसन जेभीमाथि सार्वजनिक सम्पत्ति हानी–नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो । अख्तियारले प्रतिवादीसँग एक करोड ८४ लाख ३८ हजार ४५८ रूपैयाँ बिगो दाबी गरेको छ ।
अन्य प्रतिवादीमा शहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह, इन्जिनियर म. सकुर अन्सारी, अस्पतालका नासु सुशीलप्रसाद यादव र तत्कालीन लेखापाल सुदीपकुमार माझी, मूल्यांकन समिति संयोजक डा. वीरेन्द्रबहादुर प्रधान र सदस्य सचिव माधवी चौधरी, ठेकेदार कम्पनी मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्मा र लुम्बिनी मिसन जेभी छन् ।
आर्थिक वर्ष २०७७/७८ मा भवन निर्माणको ठेक्कामा कूल लागतको ३.५ प्रतिशत हिस्सा इन्टरलक ब्लक बिछ्याउनु पर्ने काममा ठेकेदारसँगको मिलेमतोमा एक मात्र प्रतिष्पर्धी लक्षित गरी ठेक्का सम्झौता गरिएको पाइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाएका छन् ।