‘गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य  आवश्यक’


१४:४५ बजे

काठमाडौं । सभामुख देवराज घिमिरेले सामाजिक सुरक्षाको सुनिश्चितता, श्रमिकहरूको सीप विकास, प्रविधिमैत्री वातावरण, समान अवसर र गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य हुनुपर्ने आवश्यकता औंल्याएका छन् । 

विश्व मजदुर दिवस (मे १) का अवसरमा शुभकामना सन्देश जारी गरी उनले नेपालका सम्पूर्ण श्रमिक वर्ग, श्रमिक अभियन्ता, ट्रेड युनियनलगायत सबैमा शुभकामना व्यक्त गर्दै बालश्रम, श्रमिक महिला–पुरुषबीचको असमानता, अपारदर्शी रोजगार प्रणाली, वैदेशिक रोजगारमा शोषण जस्ता समस्याले हामीलाई अझ सशक्त नीति र निगरानी संयन्त्र आवश्यक छ भन्ने कुराको संकेत गरेको उल्लेख गरेका छन् ।  

श्रमिक दिवस समावेशी, न्यायपूर्ण र श्रमको सम्मान हुने समाज निर्माणतर्फको हाम्रो साझा अभियानप्रतिको ऐक्यबद्धताको दिन भएको बताउँदै सभामुख घिमिरेले मजदुरको अधिकार सुनिश्चित गर्ने कानुन बने पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नेपालको संविधानले श्रमिकका अधिकारलाई आर्थिक तथा सामाजिक न्यायको आधार मानेर संस्थागत गरेको छ । धारा ३४ मा ‘श्रमको अधिकार’ सुनिश्चित गरिएको छ, जसमा उचित पारिश्रमिक, सुरक्षित र सम्मानजनक श्रम वातावरण, सामाजिक सुरक्षालगायतका विषयमा राज्यको स्पष्ट जिम्मेवारी तोकिएको छ ।’

आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रको निर्माणमा श्रमिकहरूको भूमिका महत्वपूर्ण रहेको र कृषि, निर्माण, सेवा, उद्योग, पर्यटन वा वैदेशिक रोजगारलगायत क्षेत्रमा श्रमिकको पसिना र योगदानले राष्ट्रको समृद्धि सम्भव बनाउने सभामुख घिमिरेको भनाइ छ ।

उनले सन् १८८६ मा अमेरिकाको शिकागोमा भएको श्रमिक आन्दोलनबाट सुरु भएको मजदुर दिवसले आज पनि श्रमिक हक र सम्मानपूर्ण जीवनको मागलाई विश्वव्यापी रूपमा स्मरण गराउँदै आएको उल्लेख गरेका छन् । ‘सबै श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा सम्मानजनक श्रम व्यवस्थाको कामनासहित विश्व मजदुर दिवस २०८२ का अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, शुभकामना सन्देशमा भनिएको छ ।  

‘श्रमिक दिवसले राज्य र रोजगारदातालाई मजदुरको पक्षमा काम गर्ने प्रेरणा मिलोस्’
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक दिवसले राज्य र रोजगारदातालाई मजदुरको पक्षमा काम गर्न र श्रमिक वर्गलाई एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले मे दिवसले सम्पूर्ण श्रमिकलाई पेसागत हक, हित र अधिकारका लागि संगठित एवम् एकताबद्ध भई अघि बढ्न प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

अध्यक्ष दाहालले नेपाली जनताको ठूलो त्याग, बलिदान र संघर्षको उपलब्धिका रूपमा २०७२ सालमा जारी संघीय गणतान्त्रिक संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको उल्लेख गरे । उनले संविधानको व्यवस्थामा आधारित भएर श्रमिक वर्गको पक्षमा थुप्रै ऐन कानुनहरू बनेका भन्दै ती कानुन र संविधानप्रदत्त हक कार्यान्वयन भए मात्रै श्रमिक दिवस मनाउनुको सार्थकता हुने बताए ।

‘नेपालमा श्रमजीवी जनताले आफ्नो अधिकारका निम्ति विभिन्न कालखण्डमा सशक्त र सशस्त्र संघर्ष गरेर बलिदानका अनेकौं कीर्तिमान कायम गरेका छन् । किसान, मजदुरसहित सबै उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायका जनताको संघर्ष र बलिदानको कीर्तिमानकै कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । गणतान्त्रिक व्यवस्थामा श्रमिक वर्गलाई रोजगारी, सुरक्षा र सम्मानजस्ता आधारभूत पक्षमा राज्यले कुनै कमी हुन दिनु हुँदैन’, शुभकामना सन्देशमा भनिएको छ ।

अध्यक्ष दाहालले कार्यस्थलमा मर्यादित र मजदुरमैत्री वातावरण, समयमा पारिश्रमिक प्रदान गर्नुपर्ने विषयमा राज्यका निकाय गम्भीर बन्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । सामाजिक सुरक्षा, बिमालगायत लोककल्याणकारी सेवाको नीतिगत व्यवस्थाका साथै कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ । ‘जसरी हिजोका दिनहरूमा समाज परिवर्तन गर्दै जनताको राज्यसत्ता प्राप्त गर्न निरन्तर संघर्ष श्रमिक वर्गले गर्‍यो, जनताको बलबाट प्राप्त ती राजनीतिक परिवर्तन र उपलब्धिलाई बचाउन तथा सुदृढ गर्न श्रमिक वर्ग हमेसा सचेत रहन दिवसले प्रेरणा मिलोस् भनी कामना गर्दछु’, सन्देशमा भनिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७