प्रधानमन्त्रीको टिप्पणी : राजावादी कति असहिष्णु

‘लगानी सम्मेलनबाट कोशी प्रदेशको समृद्धिको ढोका खुल्छ’


१७:२६ बजे

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारले आफूलाई लागेको कुरा व्यक्त गर्दा गाली गरिएको भन्दै फेरि आलोचना गरेका छन् । आज (बिहीबार) विराटनगरमा आयोजित कोशी प्रदेशको लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले राजावादीहरुले असहिष्णुता प्रकट गरेको टिप्पणी गरेका हुन्। ‘उनीहरुको असहिष्णुता कस्तो छ भन्ने देख्नका लागि एक कलाकारले कुनै राजनीतिको एक शब्द सर्मथनमा बोले,’ प्रधानमन्त्री ओलीको भनाइ छ, ‘त्यो कलाकारलाई खेदेर खप्नुखानु भएन । उ त पोलिटिकल मान्छे त होइन । उसले आफूलाई लागेको कुरा पाक्व बोलिदियो । यसलाई खेदेर उधुम ।’

त्यस्तै कलाकार सुरक्षा पन्तमाथि भएको आलोचनाबारे पनि चर्चा गर्दै उनले राम्रो कुरा गर्दा पनि अनावश्यक आलोचना भएको बताए । ‘एउटा बच्चाका बारेमा उनीसँग सोधियो–कस्तो लाग्छ त्यो बच्चा ?,’ ओलीले भने, ‘कसैको छोराछोरीको बारेमा सोध्नुपर्ने, देशभरी यत्रा छोराछोरी । कसैका नातीनातिनाकाबारेमा सोध्नुपर्ने केही जरुरी थियो ? तर, सोधिहाले । गुडलुकिङ हुनुहुन्छ, कला क्षेत्रमा आउनु भयो भने मार्केट जम्छ जस्तो छ भनेको छ । कति राम्रो कुरा गरेको छ हेर्नुहोस् त । त्यो पनि भन्न नपाइने । के भनिदिनु पर्ने ?’

राजा हुने अहिले व्यवस्था नै नभएको भन्दा पनि आलोचना भएको भन्दै  उनले पुरानै पञ्चायती दिन सम्झेर राजावादीहरुले कलाकारको आलोचा गरेको टिप्पणी गरे । ‘अनि सोध्छ–राजा बन्ने पनि कुरा छ नि? त्यस्तो त हाम्रोमा व्यवस्था नै छैन । त्यति भन्या छ,’ ओलीको भनाइ छ, ‘त्यो व्यवस्था नै छैन, कसरी होला र ? यति भन्दा त्यसको फिलिम नहेर । त्यसले खेलेको नहेर ? त्यसले गाएको गीत मिठो भए पनि नसुन । उसको नृत्य राम्रो भए पनि नहेर। उसको कला राम्रो भए पनि नहेर । कति साह्रो असहिष्णु ? उही पुराना पञ्चायती दिन सम्झिएको छ क्या ।’

‘ढुक्क भएर लगानी गर्नुस्, सरकारको साथ सहयोग हुन्छ’
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई पनि आग्रह गरे । 

‘पूर्वाधार निर्माण भइसकेको समय भएकाले ढुक्कले लगानी गर्न सक्नुहुन्छ । लगानीका लागि सरकारका तर्फबाट कुनै समस्या पर्न दिइन्न । कोशी प्रदेश पूर्वाधार विकास र सडक सञ्जालसँग जोडिएको छ । लगानी गरेर उत्पादन बजारमा लाने समयसम्म एसियालीस्तरको छ लेनको पूर्व पश्चिम राजमार्ग हामी बनाइसक्छौँ । हामी कच्चा पदार्थ पनि ल्याउन सक्छौँ । त्यसकारण हरेक क्षेत्रमा नयाँ नयाँ सम्भावनाहरुलाई हामीले पहिल्याउन सक्छौँ ।’

प्रधानमन्त्री ओलीले भने, ‘देशमा सामान ल्याउन र लान कुुनै हिसाबले रोकिँदैन । आफ्नो उत्पादनको बजार कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकामा लान सक्ने गरी बाटो बनिसकेको छ । विराटनगरसहित विभिन्न विमानस्थल विस्तार गरिनेछ । सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका साथै सगरमाथासहित विभिन्न हिमाल र जडिबुटीहरुको थलो कोशीका जनता शिक्षित र मेहनती छन् । त्यस कारण पनि यहाँ लगानीको प्रचुर सम्भावना रहेको छ ।’

प्रधानमन्त्री ओलीले उद्यमशीलता दशक मनाउन सकिए रोजगारी दशक सफल हुने उल्लेख गर्दै भने, ‘म युवाहरुलाई भन्न चाहन्छु, जागिरको खोजीमा नभौंतारिनुस्, उद्यमशीलतामा लाग्नुस् । त्यसका लागि सोच, तालिम र सहयोगमा सरकारले साथ दिन्छ ।’ प्रधानमन्त्री ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ब्राण्डिङ गर्न आग्रह गर्दै ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलले अन्तर्राष्ट्रिय श्रम संगठनको मान्यताअनुसार श्रमको सम्मान दिन तथा रोजगारादाता र श्रमिकबीच संवादका साथै ट्रेड युनियन अधिकारको रक्षाका लागि नेपाल सरकार स्पष्ट रहेको पनि लगानीकर्तालाई अवगत गराए । प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितले स्वागत गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७