विदेशमा रहेका नेपालीलाई देउवाको आग्रह : विकासमा योगदान पुर्याउनुस्, के गर्नुपर्छ तयार छौं

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा रहेका नेपालीलाई आफ्नो ज्ञान, सीप र पुँजीलाई स्वदेशमा प्रयोग गरेर देशको आर्थिक, सामाजिक विकासमा योगदान पुर्याउन आग्रह गरेका छन् । बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेपाली जनसम्पर्क समिति समन्वय विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
‘तपाईहरूले विदेशमा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक र सामाजिक विकास गर्न यहाँहरूलाई आग्रह गर्दछु,’ सभापति देउवाले भने, ‘त्यसका लागि के कस्ता नीतिगत परिवर्तन गर्नु पर्दछ ? हामीले निर्धक्क भन्नुहोस् हामी राष्ट्रिय सहमति बनाएर कार्यान्वयन गर्नेछौं ।’
सभापति देउवाले विदेशमा रहेका नेपाली र नेपालमै रहेका नेपालीबीच समान राजनीति अधिकारको लागि कांग्रेस प्रयासरत रहेका बताए । सभापति देउवाले विश्वको जुनसुकै कुनामा भए पनि नेपालप्रति सम्मान र आभार प्रकट गरिदिन पनि आग्रह गरे । ‘नेपालीहरू जहाँसुकै छन्, नेपालीहरूप्रति ती देशको सम्मान पनि रहेको मैले पाएको छु,’ सभापति देउवाले भने ।