जनमत र नाउपाको एकता अब कहिले ?


१६:४९ बजे

काठमाडौं । सीके राउत नेतृत्वको जमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) को एकता घोषणा केहि दिन ढिलो हुने भएको छ। रेशम चौधरी पक्राउको घटनाको समीक्षापछि मात्रै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकताको नयाँ मिति तय हुने भएको छ । समीक्षा रिपोर्ट आएपछि मात्रै एकताको मिति तय हुने जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए ।

‘भएका सहमतिमा दुवै पार्टी प्रतिबद्ध छ । यस घटनाको समीक्षा गरेर रिपोर्ट तयार हुन्छ, त्यसपछि संयुक्त बैठक बसेर प्रक्रिया अघि बढाउँछौँ । र, एकताको मिति तय हुन्छ’, उनी भन्छन् । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच बुधबार एकता गर्ने तय भएको थियो । तर, सर्वोच्च अदालत मुद्दा शाखाका अधिकृत महिमानसिंह विष्टले लेखेको एक अनधिकृत पत्रका आधारमा चौधरी एकता कार्यक्रमस्थल प्रज्ञाभवनबाट पक्राउ परेका थिए । उनको पक्राउपछि एकता सभा नै स्थगित गरिएको थियो ।

अहिलेसम्म एकता घोषणाको अर्को मिति तोकिएको छैन । हिजो चौधरी कैदमुक्त भएपछि दुबै पार्टीका नेताहरू मध्यबानेश्वरको सनराइज क्याफेमा भेटेका थिए । तर, त्यहाँ जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत भने पुगेनन् । पूर्व निर्धारित कार्यक्रममा पुग्नुपरेकाले उनी त्यहाँ पुगेनन् । यसपछि झन् एकता घोषणा अनिश्चित बन्यो । तर, अबको तीन दिनभित्र एकता घोषणा हने नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डित बताउँछन् । ‘अबको तीनभित्र एकता भइसक्छ,’ उनले भने, ‘म्याक्सिमम एक हप्ता हो । एक हप्ता लाग्दैन ।’ 

चौधरी–राउतबीच निरन्तर संवाद
जनमत अध्यक्ष चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति संरक्षक रेशम चौधरीबीच निरन्तर संवाद भइरहेको छ । उनीहरूका बीचमा कतिपय कुराहरू टुङ्गिन बाँकी रहेको बताइन्छ । चौधरी ‘प्याकेज’ मै घोषणा गरेर जानुपर्ने पक्षमा छन् भने राउत अहिलेका लागि नाम, नेतृत्व, झण्डालगायत मात्रै घोषणा गरेर जानुपर्ने अडानमा छन् । यसमा उनीहरूबीच सहमति भइसकेको छैन ।

यसअघि गत मंगलबार राति १२ बजेसम्म उनीहरूबीच संवाद भएको थियो । तर, यस विषयमा कुरा मिलेको थिएन । चौधरीले ‘उधारो एकता गरिन्न’ भनेका छन् । स्रोतका अनुसार मंगलबार राति १२ बजे उनीहरू बिना सहमति उठेका छन् । अब फेरि पनि उनीहरूबीच संवाद हुने नेताहरूले बताएका छन् । तर, यो विषय एकता घोषणा नै रोक्नेखाले भने नभएको बताइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७