पहिचानवादी शक्ति एक ठाउँ हुन नदिन रेशमलाई पक्राउ गरियो : जनमत
रेशम पक्राउको विरोधमा नाराबाजी

काठमाडौं । जनमत पार्टीले देशमा पहिचानवादी शक्तिहरूलाई एक ठाउँमा आउन नदिन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको आरोप लगाएको छ।पार्टीका प्रवक्ता शरदसिंह यादवले प्रज्ञा प्रतिष्ठानमा यस्तो बताएका हुन् । ‘यो देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआउनु भन्नका लागि रेशम चौधरीलाई पक्राउ गरेको देखिन्छ,’ उनले भने । चौधरीलाई केहीबेरअघि प्रज्ञा प्रतिष्ठान परिसरबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै उनलाई डिल्लीबजार कारागार लगिएको छ । यता दुई पार्टीबीच आज हुने भनिएको एकता सभा स्थगित गरिएको छ ।
प्रवक्ता यादवका अनुसार अब के गर्ने भन्नेबारे दुवै पार्टीबीच छलफल गरेर टुंगो लाग्नेछ । ‘अहिले तत्कालका लागि यो प्रक्रिया रोक्नुपर्ने स्थिति आयो,’ यादवले भने, ‘यो प्रक्रियालाई अघि बढाउन उपयुक्त देखिँदैन । आजका लागि यो कार्यक्रम स्थगित गरेका छौं ।’ टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । अहिले रेशम पक्राउको विरोधमा प्रज्ञा प्रतिष्ठानमा नाराबाजी भइरहेको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक रेशम चौधरी बुधबार पक्राउ परेका छन् । नाउपा र जनमत पार्टीबिच एकीकरण घोषणा गर्न प्रज्ञा भवन कमलादी पुगेका बेला सादा पोसाकमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । चौधरी पक्राउ परेपछि उनका समर्थकले प्रज्ञा प्रतिष्ठानमा सरकारविरुद्ध नाराबाजी गरेका छन् ।