जनमत–नाउपा एकता घोषणा स्थगित

रेशम चौधरी पक्राउप्रति सीके राउतको भर्त्सना


२०८२ बैशाख १८ बुधबार १७:३४ बजे

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरण घोषणा स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकीकरण घोषणा कार्यक्रम स्थगित भएको जनमतका अध्यक्ष सीके राउतले जानकारी दिएका छन् । राउतले भने, ‘रेशमजीलाई प्रहरीले पक्राउ गरेकाले हाल स्थगित गरेका छौँ । यो घटनाको हामी भत्र्सना गर्दैछौँ । यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ–आफ्नो घर जान आग्रह गरिएको छ । बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं ।’

दुई पार्टीबीच बुधबार एकता घोषणा गर्ने तयारी थियो । यसका लागि देशभरबाट नेता कार्यकर्ता प्रज्ञा प्रतिष्ठानमा भेला भएका थिए । चौधरी पक्राउ परेपछि नेता–कार्यकर्ताले प्रज्ञा परिसरमा केहीबेर नाराबाजी गरेका थिए । सादा पोसाकमा खटिएका सुरक्षाकर्मीले चौधरीलाई प्रज्ञा भवनमै पुगेर पक्राउ गरेका थिए । सर्वोच्चको आदेश कार्यान्वयन गरिएको काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहोराले बताए । चौधरीलाई डिल्लीबजार कारागारमा लगेर बुझाइसकिएको प्रहरीले बताएको छ ।

२०७२ भदौमा टीकापुरमा भएको घटनाका कारण चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए। प्रहरी स्रोतका अनुसार आममाफीको फैसला सर्वोच्चले उल्ट्याएपछि उनलाई पक्राउ गरिएको हो । यस्तै मुद्दामा राष्ट्रपति रामचन्द्र पौडेलले रिगल भनिने योगप्रसाद ढकाललाई गरेको कैद मिनाहालाई तत्काल बदर गर्न सर्वोच्च अदालतको पूर्ण इजलासले परमादेश गरेको थियो । साथै इजलासले रिगललाई पुनः पक्राउ गरी कारागार चलान गर्न पनि परमादेश दिएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७