पहलगाम घटना निष्पक्ष छानबिन गर्न पाकिस्तान तयार

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले जम्मू–कास्मिरको पहलगाम घटनाको निष्पक्ष छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन् । गत मंगलबार भारतको पहलगामस्थित पर्यटकीय क्षेत्रमा आतंकवादी आक्रमणमा २६ जनाको हत्या गरेको थियो । उक्त घटनापछि भारत र पाकिस्तानको सम्बन्ध चिसिएको छ ।
यसैबीच शनिबार प्रधानमन्त्री शरीफले काकुलस्थित पाकिस्तानी सैनिक एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै छानबिनमा सघाउन तयार भएको बताएको पाकिस्तानी समाचारपत्र डनले जनाएको छ । ‘पहलगाममा भएको हमलापछि भारतले निराधार आरोप लगाएको छ, तर यो रोकिनु पर्छ । हामी यस मामिलामा निष्पक्ष जाँचमा जस्तोसुकै सहयोग गर्न तयार छौं,’ उनले भने ।
यद्यपि आफ्ना सैनिकहरू आफ्नो सार्वभौमसत्ताको रक्षा गर्नका लागि सक्षम र तयार रहेको पनि उनले बताए।पहलगाममा भएको हमलाको जिम्मा द रेसिस्टेन्ट फ्रन्ट (टिआरएफ) ले लिएको छ । टिआरएफलाई पाकिस्तानको सैन्य र गुप्तचर निकायले समर्थन गरेको आरोप छ। भारत–पाकिस्तानबीच बढ्दो तनावबीच संयुक्त राष्ट्रसंघले दुवै देशलाई अधिकतम संयम अपनाउन र वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ । पाकिस्तानले आफ्नो आकाशमा भारतीय जहाजलाई प्रतिबन्ध समेत लगाएको छ ।