पाकिस्तानका प्रधानमन्त्री साउदी अरब र सेना प्रमुख इरान भ्रमणमा : शान्ति वार्ताको प्रयास
काठमाडौँ : पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब र सेना प्रमुख असीम मुनिर इरान पुगेका छन् । जसलाई अमेरिका र इरान बीचको शान्ति वार्ता पुनः सुरु गर्ने सम्भावित नयाँ चरणको तयारीको रूपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री शहबाज सरिफ साउदी अरबको चार दिने भ्रमणमा छन् । उनले त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गरिरहेका छन् । यो भ्रमण पाकिस्तानको सक्रिय कूटनीतिक भूमिकामा महत्त्वपूर्ण मानिएको छ भने अमेरिका र इरानबीचको वार्ता पुनः सुरु गर्न मद्दत पुर्याउने आशा गरिएको छ।
यस भ्रमणमा सरिफले साउदी राजकुमार मोहम्मद बिन सलमानसँग क्षेत्रीय अवस्थाबारे छलफल गरे । साथै कतार र टर्कीको भ्रमण गर्ने योजना बनाएका छन्।
अमेरिका र इरान बीचको वार्ता गत हप्ता निष्कर्षविहीन सकिएको थियो तर पाकिस्तानका उच्च अधिकारीहरूको मध्यस्थतामा केही सकारात्मक संकेतहरू देखिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो मात्र इरानसँग फेरि २ दिनभित्र वार्ता हुने बताएका थिए ।
यता, पाकिस्तानका सेना प्रमुख असीम मुनिरको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल इरानको राजधानी तेहरान पुगेर, इरानसँगको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउँदै युद्ध विरामको मुद्दामा मध्यस्थता गरिरहेको छ।
पाकिस्तान र साउदी अरबको घनिष्ठ सम्बन्धका कारण, रियादले पाकिस्तानलाई हालै तीन अर्ब डलरको आर्थिक सहयोग पनि उपलब्ध गराएको छ। यो रकम पाकिस्तानको विदेशी मुद्रा भण्डारको वृद्धिमा सहायक हुनेछ। यसैगरी, इरानसँगको सक्रिय कूटनीतिक प्रयासले पाकिस्तानलाई क्षेत्रीय तनाव घटाउन र शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्न मद्दत पुर्याउने विश्वास गरिएको छ।
.gif)

.png)

