पाकिस्तानविरुद्ध कारबाहीबारे भारतीय प्रधानमन्त्री : आतंकको हेडक्वार्टरलाई उजाड पारिदियौं


२०८२ बैशाख २९ सोमबार ००:१७ बजे

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिदा मनाइरहेका निर्दोष नागरिकलाई धर्म सोधेर क्रुर हत्या गर्ने आतंककारीलाई कडा जवाफ दिइएको बताएका छन्।

आज (सोमबार) बेलुका राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले भने, ‘यो हमलापछि सिंगो देश, नागरिक समाज, राजनीतिक दल एकस्वरमा आतंकको विरुद्धमा कडा कारबाहीका लागि उठेका थिए, त्यसपछि हामीले आतंकवादलाई माटोमा मिलाउनका लागि भारतको सेनालाई जिम्मा दिएका थियौं ।’

त्यसक्रममा हरेक आतंककारी संगठनलाई ‘आफूहरूको बहिनी, छोरीको शिरबाट सिन्दुर हटाउनुको नतिजा के हुन्छ भन्ने सन्देश’ पुगेको उनले बताएका छन् । ‘अपरेशन सिन्दुर नाम मात्र होइन, देशको सयौं मान्छेको भावनाको प्रतिबिम्ब पनि हो’, उनले भने, ‘अपरेशन सिन्दुर न्यायको अखण्ड प्रतिज्ञा हो । ६ मेको राति ७ मेको बिहान पूरा दुनियाँले यो प्रतिज्ञाको परिणाममा बदलिएको देखे ।’

त्यस दिन भारतीय सेनाले पाकिस्तानको आतंककारी ठेगानामा उनीहरूको तालिम केन्द्रलाई लक्षित गरेर सटिक प्रहार गरेको बताएका छन् । १० वैशाखमा भारत प्रशासित जम्मु कश्मिरमा आतंकवादी समूहले गोली हानेर एक नेपालीसहित २६ जनाको विभत्स हत्या गरेको थियो । त्यसको दुई सातापछि आतंकवादविरुद्धको कारबाही भन्दै भारतले पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानमा हवाई आक्रमण गरेको थियो ।

आक्रमणमा एक सय बढी खुंखार आतंकवादीलाई मारिएको बताउँदै उनले आतंकको हेडक्वार्टरलाई उजाड पारिदिएको बताए । ‘आतंककारी खुलेआम पाकिस्तानमा घुमिरहेको अवस्थामा त्यहाँ जवाफ दिइएको हो, एक झट्कामा खत्तम गरिएको थियो’, उनले भने, ‘भारतको जवाफबाट पाकिस्तान एकदम निरासा र हतासमा अर्को दुस्साहस गर्‍यो ।’

पाकिस्तानमा भारतको हमलापछि इस्लामावादले पनि जवाफी कारबाही गरेको थियो । त्यसक्रममा दुई देशबीचको तनाव उत्कर्षमा पुगेको थियो । तर, अमेरिकासहितका राष्ट्रहरूको मध्यतामा दुवै पक्षबीच युद्धविराम भएको छ । यद्यपि, दुई मुलुकबीच तटस्थ स्थानमा फेरि वार्ता हुने भनिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७