बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध


२०८२ बैशाख २९ सोमबार ०३:५० बजे
फाइल फोटो

काभ्रेपलाञ्चोक । आज (सोमबार) दिउँसो परेको वर्षाका कारण डाइभर्सनहरू बगाउँदा बीपी राजमार्ग अवरुद्ध बनेको छ। रोशी गाउँपालिका–११ र १२ सीमानामा रहेको माम्ती खोला नजिकै डाइभर्सन बगाएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिएका छन्।

डाइभर्सन बगाएपछि अहिले बीपी राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन रोकिएको कार्कीले बताए । ‘पूर्वबाट आइरहेका सवारीलाई खुर्कोट र नेपालटारमा विभिन्न सवारी रोकेका छौं, काठमाडौंबाट गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको छ’, उनले सुनाए।

रोशी गाउँपालिका–११ कालढुंगास्थित भ्याकुरे खोलामा एउटा ईभी भ्यान फसेको प्रहरीले जनाएको छ । पानीको बहाब बढेका कारण गाडी निकाल्न समस्या भइरहेको कार्कीले बताएका छन् । यस्तै नमोबुद्ध नगरपालिका–६ र रोशी ७ जोड़ने ह्युमपाइप राखेर बनाइएको सडक बगाएको छ । गत असोजमा सोही ठाउँमा पक्की पुल बगाएको थियो । ‘राजमार्गमा पर्ने डाइभर्सनहरूमा कति क्षति पुगेको छ भन्ने यकिन विवरण संकलन गर्दैछौं,’ कार्कीले भने ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका एसपी कोमल शाहका अनुसार यात्रुहरूलाई होटलसम्म पुग्नेगरी व्यवस्था मिलाउन अहिले प्रहरीका विभिन्न युनिटबाट टोली खटिएको छ । ‘सकेसम्म यात्रामा रहेका सवारीलाई होटल, पसल भएको स्थानसम्म पुग्नका लागि व्यवस्था मिलाउने प्रयासमा छौं,’ एसपी शाहले भने । यता आजै दिउँसो काभ्रको पनौतीस्थित कूलोमा आएको बाढीमा परेर एक जना महिला बेपत्ता भएकी थिइन् । प्रहरीका अनुसार, पनौतीबाट बग्ने उक्त कूलो भएर जाने खोला पनि रोशीमै मिसिन्छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७