शिक्षामन्त्रीको राजीनामाबारे पूर्वमन्त्री खनालको टिप्पणी : सरकारले ‘बलिको बोको’ बनायो

काठमाडौं । पूर्व शिक्षामन्त्री शिशिर खनालले आन्दोलनरत शिक्षकहरूको धेरै माग शिक्षा मन्त्रालयले मात्र पूरा गर्न सम्भव नहुने खालका रहेको बताएका छन् । शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि सामाजिक सञ्जाल एक्समा लेख्दै उनले शिक्षक, कर्मचारीहरूको धेरै विषय आर्थिक पक्षसँग जोडिएको भन्दै खनालले अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोग बिना माग पूरा गर्न सम्भव नभएको स्पष्ट पारेका छन् ।
रास्वपा सांसद समेत रहेका उनले अहिले शिक्षा मन्त्री भट्टराईलाई बलिको बोको बनाइएको टिप्पणी गरेका छन् । शिक्षामन्त्री भट्टराईको राजीनामा ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजे जस्तो भएको उनको आरोप छ । उनले लेखेका छन्, ‘आन्दोलनरत शिक्षकहरूको धेरै माग शिक्षा मन्त्रालय वा शिक्षामन्त्रीले मात्र पूरा गर्न सक्ने खालका छैनन् । शिक्षक, कर्मचारीहरूको धेरै विषय आर्थिक पक्षसँग जोडिएको छ । अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोग बिना सम्भव नै छैन ।’
तीनै मन्त्रालय एउटै पार्टीका छन् तर अहिले हेर्दा ‘बलिको बोको’ शिक्षा मन्त्रीलाई बनाइँदैछ । प्रधानमन्त्रीसँग छलफल गरेर गएर पनि शिक्षक आश्वस्त हुन नसकेपछि आन्दोलन गरिरहेका छन् । ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजेको जस्तो भयो ।’