ट्रम्पको धम्कीले सुनकाे भाउ भारी वृद्धि, नेपालमा एकै दिन तोलामा सात हजार बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ भारी वृद्धि हुँदै नयाँ कीर्तिमान बनाएको छ । नेपाली बजारमा सुनको भाउ एकै दिन ६ हजार ९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दूमा पुगेको हो।सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो । सोमबार तोलामा एक लाख ९१ हजारमा कारोबार भएको सुन आज प्रतिलोला ६ हजार ९ सय रुपैयाँले बढेर एक लाख ९७ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । प्रतिऔंस ३४०० डलर नाघेको छ । मंगलबार कारोबारको प्रारम्भमा थप मूल्य बढेर ३४८० डलर हाराहारीमा पुगेको छ । गत साताको तुलनामा मूल्य करिब ५ प्रतिशत बढेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक (फेडरल रिजर्भ) लाई दिएको एक धम्कीका कारण सुनको मूल्यमा भारी वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीले जनाएको छ । ट्रम्पले शुक्रबार मात्रै केन्द्रीय बैंकलाई हस्तक्षेप गर्ने आशयले अभिव्यक्ति दिएका थिए । ‘धेरैले ब्याजदरमा कटौतीको माग गरिरहेका छन्’ ट्रम्पले ट्रुथ सोसियलमा भनेका छन् ‘अहिले ब्याजदर घटाउन नसकेमा अर्थतन्त्रमा मन्दी आउन सक्छ ।’ साथै उनले ब्याजदर तत्काल घटाइहाल्न फेडका अध्यक्ष जेरोम पावेललाई निर्देशनात्मक शैलीमा भनेका छन् ।