युएईका परराष्ट्रमन्त्री नेपाल भ्रमणमा आउँदै

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) का परराष्ट्रमन्त्री आउँदो साता नेपाल भ्रमणमा आउने भएका छन् । उपप्रधानमन्त्री समेत रहेका परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयानले नेपालको दुई दिने भ्रमण गर्न लागेका हुन् ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा युएईका उपप्रधान तथा परराष्ट्रमन्त्री अल नाहयानले ९–१० वैशाख (२२–२३ अप्रिल) मा नेपालको दुई दिने भ्रमण गर्न लागेको स्रोतले जनाएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री अल नाहयानको नेपाल भ्रमणका क्रममा उनका नेपाली समकक्षी डा. आरजु राणा देउवासँग भने भेटवार्ता भने हुने छैन ।
अल नाहयान नेपाल भ्रमणमा हुँदा परराष्ट्रमन्त्री डा. राणा थाइल्याण्ड भ्रमणमा हुने छिन् । युएईको राजपरिवारका शक्तिशाली सदस्य शेख अब्दुल्लाह सन् २००६ देखि त्यहाँ परराष्ट्रमन्त्रीको जिम्मेवारीमा छन् । उनले नौं वर्षअघि तत्कालीन परराष्ट्रमन्त्री कमल थापाको निमन्त्रणामा २०७३ वैशाखमा नेपाल भ्रमण गरेका थिए ।