दुर्गा प्रसाईलाई सरकारी वकिलको कार्यालय लगियो

काठमाडौं । दुर्गा प्रसाईलाई सरकारी वकिलको कार्यालय लगिएको छ । भारतमा पक्राउ परेका प्रसाईलाई झापाबाट आज काठमाडौं ल्याइएको हो । सरकारी वकिलको कार्यालय ल्याउनुअघि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको थियो ।
त्यहाँ आवश्यक कागजात मिलाएर उनलाई सरकारी वकिलको कार्यालय ल्याएको प्रहरीले जनाएको छ । उनलाई म्याद थपका लागि आजै जिल्ला अदालत काठमाडौं लैजाने प्रहरीको तयारी छ। प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले राज्यविरुद्ध र अभद्र व्यवहारको कसूरमा अनुसन्धान गर्न प्रसाईलाई म्याद थपका लागि अदालत लगिने जानकारी दिए । प्रसाईंविरुद्ध राज्यविरुद्ध र अभद्र व्यवहारको कसूरमा मुद्दा दर्ता भएको छ ।
राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरी आजै बिहान झापा ल्याइएको थियो । भद्रपुर विमानस्थल ल्याउनुअघि प्रसाईलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको थियो । उनीसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खडकालाई पनि काठमाडौं ल्याइएको छ । दुवै जनाविरुद्ध राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
चैत्र १५ गते तीनकुनेको राजावादीको प्रदर्शनस्थलबाट फरार भएका थिए । प्रहरीको टोली प्रसाईंलाई खोज्न केही दिन अगाडि भारत गएको थियो । राजावादीको प्रदर्शनमा आन्दोनकारीहरूलाई उक्साएर विध्वंशकारी घटना घटाएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा प्रहरी हिरासतमा छन् । उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधको कसुरमा मुद्दा चलाइएको छ । तीनकुनेमा राजावादीले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको ज्यान गएको थियो भने सुरक्षाकर्मीसहित १३० बढी घाइते भएका थिए ।