मर्मत गर्दै गर्दा गाडीले च्यापेर एक जनाको मृत्यु

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको ताकम–मच्छिम–मुना सडकअन्तर्गत उत्तिसिनेमा आज दिउँसो बोलेरो जीप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
सडक छेउमा रोकिराखेको ग १ ज ७०४९ नम्बरको बोलेरो जीपको पछाडिको भागले च्यापिएर धवलागिरि–३ मुनाका अन्दाजी २६ वर्षीय रोहित शेरपुञ्जाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले ताकम प्रहरी चौकीको टोली घटनास्थल पुगेको जनाउँदै जिल्ला प्रहरी कार्यालयबाट पनि थप टोली अनुसन्धानका लागि त्यसतर्फ जाँदै गरेको बताए । उनका अनुसार सडक छेउमा रोकेर राखेको गाडी मर्मत गर्ने क्रममा लच्किएर शेरपुञ्जाको शरीरको कम्मरमा च्यापेको छ । शेरपुञ्जाले गाडी मर्मतसम्बन्धी काम गर्थे ।