रवि कारागार चलानपछि रास्वपा पहिलो सचिवालय बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बसिरहेको छ। बैठक अहिले केन्द्रीय कार्यालय बनस्थलीमा बसिरहेको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा विभिन्न अदालतमा मुद्दा खेपिरहेका सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएपछि आज पहिलो पटक सचिवालय बैठक बसेको हो।
बैठकमा विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल हुने एजेण्डा तय गरिएको छ। जसअनुसार अघिल्लो बैठकको समीक्षा, पार्टीका हालसम्मका गतिविधि तथा समसामयिक राजनीतिक घटनाक्रममाथि चर्चा हुनेछ। त्यस्तै, पार्टीको अधिवेशनसम्बन्धी तयारी, जनयात्रा कार्यक्रम र प्रदेश हेर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको जिम्मेवारीबारे पनि विस्तृत छलफल हुने जनाइएको छ ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले थुनामै राख्न आदेश दिएपछि पूर्वगृहमन्त्री लामिछाने चैत २२ गते काठमाडौँस्थित निवासबाटै पक्राउ परेका थिए भने चैत २५ गते जिल्ला अदालत रुपन्देहीमा पेस गरी थुनुवा पुर्जी लिएर उनलाई कारागार चलान गरिसकिएको छ ।