चरन क्षेत्र खोज्दै दाङ पुर्याइन्छ नवलपुरको मौरी

नवलपरासी । मौरीको चरन क्षेत्र अभावमा व्यावसायिक रुपमा मौरी पाल्ने यहाँका किसान मौरी लिएर पश्चिम नेपालको दाङसम्म पुग्न बाध्य छन् । स्थानीय किसानले आफ्नो अन्नबालीमा विषादीको प्रयोग गर्दा मौरीपालक किसान मौरी बोकेर डुल्नुपर्ने अवस्था सिर्जना भएको हो ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–४ व्यावसायिक रुपमा मौरी पाल्दै आएका विजय मौरी फार्मका सञ्चालक तेजबहादुर रानाले बर्सेनि मौरी चराउन अन्यत्र लैजानुपर्ने बाध्यता भएको बताए । आफूले २० वर्षदेखि स्थानीय जातको मौरी पाल्दै आएकामा पाँच वर्षदेखि व्यावसायिक रुपमा मेलिफेरा जातको मौरीपालन गरेको उनको भनाइ छ। आफूसँग ९० घार मौरी रहेको बताउँदै रानाले मौरी चराउन लैजान र ल्याउन साह्रै गाह्रो हुने गरेको गुनासो गरे।
नवलपुरमा तोरी, फापरसहित अन्य खेतीहरु प्रशस्त हुने गरेको भए पनि यहाँका किसानले बढी विषादी प्रयोग गर्नाले मौरी बोकेर डुल्नुपर्ने अवस्था आएको उनको भनाइ छ । पश्चिम नेपालको कपिलवस्तु, दाङमा अगौटे तोरी हुने र विषादी पनि नछर्ने भएकाले असोजको पहिलो हप्तादेखि मौरी चराउन लिएर जाने गरेको उनको भनाइ छ।
‘बर्दघाटबाट पश्चिम लागेपछि त्यहाँका किसानले तोरीमा विषादी पनि हाल्दैनन्, महको उत्पादन पनि राम्रो हुन्छ’, उनले भने, ‘स्थानीय तोरीमा विषादी बढी हालिने भएकाले मौरी पनि मर्ने सम्भावना र मह पनि गुणस्तरीय नहुने भएकाले दाङतिर चराउन लैजान्छौँ ।’ मौरीपालनमा राम्रो आम्दानी हुने भए पनि किसानको मह बिक्रीमा समस्या रहेको उनले बताए । कूल ९० घारबाट एक पटक मह झिक्दा कम्तीमा पनि पाँच सय किलो मह निस्कने भन्दै उनले नेपाली किसानको महले मूल्य नै नपाउने गरेको गुनासो गरे । भारतबाट कम गुणस्तरको मह आउँदा गुणस्तरीय नेपाली महको बिक्रीमा समस्या भएको उनको भनाइ छ।
‘यहाँ विचौलियाको बिगबिगी छ, हामीले उत्पादन गरेको महलाई प्रतिलिटर रु २५० भन्दा बढी तिर्न खोज्दैनन्’, उनले भने, ‘कम्तिमा पनि प्रतिलिटर रु ४०० सम्म बिक्री गर्न पाए हामीलाई पनि राम्रो हुन्थ्यो ।’ सस्तोमा मह बिक्री गर्न भन्दा नबेच्ने भन्दै धेरै किसानले मह घरमै राख्ने र आफैले ब्राण्डिङ गरेर बिक्री गर्ने गरेको उनको भनाइ छ । रानाले आफूसँग अहिले पनि करिब ६०० किलो मह मौज्दात रहेको बताए ।
नवलपुरको देवचुलीका मौरीपालक किसान नन्दु सापकोटाले व्यावसायिक रुपमा मौरी पाल्दै आएका किसानले उत्पादन गरेको मह बिक्री नहुँदा जिल्लाका धेरै किसान समस्यामा परेका बताए। नवलपुरमा हाल १५० भन्दा बढी व्यावसायिक मौरीपालक किसान रहेका भन्दै उनले व्यावसायिकरुपमा बाहेक थोरै घार मौरी पाल्ने किसानको संख्या समेत उल्लेख्य रहेको सापकोटाको भनाइ छ । महको प्रयोग स्वास्थ्यका लागि लाभदायक भएकाले यसको माग बढे पनि बहुर्राष्ट्रिय कम्पनीका कारण नेपाली किसानको मह बिक्री हुन नसकेको उनको भनाइ छ।
व्यावसायिकरुपमा मौरीपालन गर्ने किसानले एउटा घारमा १० वटा फ्रेम बनाएर मौरी राख्ने र प्रतिघार बर्सेनि ६० किलोसम्म मह उत्पादन हुने सापकोटाले बताए। तोरी फुल्ने समयमा मह उत्पादनमा सहज भए पनि अन्य समयमा भने चरनका लागि समस्या हुने गरेको उनको भनाइ छ । रुदिलो, फापर, फिलिङ्गे, सिलाम, सूर्यमुखी, धनियाँ, ज्वानो, मेथी, चिउरी, भोर्ले जस्ता मौरीले रस पाउने बोटबिरुवा चरनका लागि ठीक हुने भए किसानले खेती गर्न छाडेका उनले बताए ।