राप्रपाको प्रदर्शन : दुई हजार प्रहरी खटिने, ड्रोन र सीसी क्यामराबाट निगरानी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाको माग गर्दै सभा गर्ने भएको छ । उपत्यका बाहिरबाट समेत ठूलो संख्यामा सहभागी आउने दाबी गरिएको छ ।
सभालाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसहित तीन सुरक्षा निकाय परिचालित हुनेछन् । प्रहरीको तर्फबाट करिब दुई हजार सुरक्षाकर्मी खटिने स्रोतले जानकारी दिएको छ । निगरानीका लागि सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोन प्रयोग गरिनेछ । उच्छृङ्खल गतिविधिमा संलग्न हुनेमाथि कडाइका साथ निगरानी र कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।
१५ चैतमा राजावादीको तर्फबाट दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । जसमा कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजगको मृत्यु भएको थियो । यता प्रहरीले अनाश्यक दमन गरेको भन्दै त्यसको आलोचना समेत भइरहेकै छ । तीनकुने घटनाबाट झस्केको प्रहरीले अहिले भने सुरक्षा रणनीतिबारे केही बताउन चाहेको छैन । तीनकुनेजस्तो बल्खु क्षेत्र संवेदनशील नभएको र तीनकुनेको जस्तो उच्छृङ्खल गतिविधि समेत नहुने सुरक्षा विश्लेषण गरिएको छ ।
यता राप्रपाले ठूलो संख्यामा जुलुस आएर बल्खुमा सभा हुने र त्यसलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने बताइएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कार्य सम्पादन समितिको बैठक भर्खरै सम्पन्न भएको र भोलिको प्रदर्शन र सभा सफल बनाउने निर्णय भएको बताए । उनका अनुसार मंगलबार साढे ११ बजेबाट उपत्यकाका विभिन्न ठाउँहरुबाट जुलुस निस्केन बताए । अहिले नै कति ठाउँबाट निस्कने भन्ने यकिन भइनसकेको उनको भनाइ छ । मंगलबारको प्रदर्शन शान्तिपूर्ण हुने त्यसका लागि राप्रपाले समेत ठूलो संख्यामा स्वयंसेवक परिचालन गर्ने उनको भनाइ छ ।