प्रधानमन्त्रीको आश्वासनमा शंका छैन, तर काम नभएसम्म विश्वास लाग्दैन : साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रमुख मानवीय आवश्यकता खानेपानी भएको बताएका छन् । आज (सोमबार) सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले धरानको जनताका लागि मुख्य समस्या खानेपानी रहेको बताएका छन् । उनले सडक निर्माण दोस्रो प्राथमिकतामा राख्दै धुलो बाटोमा हिँड्न सकिने तर पानी बिना जीवन नचल्ने बताए । धरानको खानेपानी समस्याका बारेमा प्रधानमन्त्रीसँग भएको कुराकानी सकारात्मक भएको जानकारी दिए । खानेपानी व्यवस्थापनका लागि करिब पाँच अर्ब लाग्ने र बजेटमार्फत स्रोत व्यवस्था गर्ने प्रधानमन्त्रीको आश्वासन पाएको उनको भनाइ छ ।
प्रधानमन्त्रीको आश्वासनमा शंका गर्न नहुने तर बजेटले सम्बोधन नगरेसम्म विश्वास नलाग्ने उनको भनाइ छ । उनले धरानमा आफूले तीन हजार धारा थपिसकेको तर सहरीकरण बढ्दा माग पनि उतिकै बढेको उल्लेख गरे । मेयर साम्पाङले जीवन रहेसम्म समस्याले नछोड्ने भन्दै मुख्य समस्या समाधान पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । काठमाडौंवासीले नियमित मेलम्चीको पानी खान नपाएको भन्ने पत्रकारहरूको जिज्ञासामा उनले श्रमदान गर्न आउन पर्यो कि भन्दै व्यङ्ग्य गरे ।