सरकारले भन्यो–कुलमान समर्थकको प्रदर्शन सामान्य

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङको पक्षमा सडक र सञ्जालमा भइरहेको विरोध प्रदर्शनलाई सामान्य रुपमा लिइएको प्रतिक्रिया दिएको छ ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री समेत रहेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो प्रष्टिकरण दिएका हुन् । सरकारले गरेका निर्णयमा असहमति जनाउने अधिकार सबैमा हुने भन्दै त्यसलाई सरकारले अन्यथा नलिएको उनको भनाइ छ । ‘सरकारले गर्ने गरेको निर्णयमा असहमति जनाउने अधिकार छ ।
वक्तव्य दिन सक्छ, त्यसलाई हामीले अन्यथा मानेका छैनौं,’ मन्त्री गुरुङले भने । सरकारले सुशासनका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट कुलमान घिसिङलाई हटाएको स्पष्ट पारेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले अहिलेको आवश्यकतालाई मध्यनजर गरेर मन्त्रिपरिषद्ले निर्णय गरेको बताए ।
‘मन्त्रिपरिषद्ले जे निर्णय गरेको छ, त्यो निर्णयले सुशासन प्रबद्र्धन हुन्छ हाम्रो कामहरू राम्रो हुन्छ भने हो,’ उनले भने, ‘सरकारले कार्यसम्पादनमा जे अधिकार प्राप्त गरेको छ, त्यही प्रयोग गरेर काम गरेको हो । जे चिज आजको आवश्यकता हो त्यही गरेका हौं ।’
उनले नाफा–नोक्सान भन्ने कुरा नहुने र लोकतन्त्रमा मानिसहरू सडकमा निस्कने अधिकार सुरक्षित रहेको पनि बताए । ‘त्यसकारण यसमा नाफा, नोक्सान भन्ने हुँदैन । यो लोकतन्त्र हो, सडकमा निस्कन सकिहाल्छ नि, सरकारले गरेको निर्णयमा असहमति जनाउने पनि अधिकार छ, सहमति जनाउने पनि अधिकार छ। अब असहमति भयो भने मानिसहरूले वक्तव्य दिन जुलुस निकाल्न सक्छन्,’ उनले भने । यसप्रति सत्ता साझेदार दल नेपाली कांग्रेस नै विभाजित देखिएको छ । प्रमुख प्रतिपक्षी लगायत विपक्षी दल सडकमै निस्किएर विरोध जनाइरहँदा मन्त्री गुरूङले सरकारले आफ्नो अधिकार प्रयोग गरेर निर्णय लिएको बताएका हुन् ।