राप्रपा अब निरन्तर आन्दोलनमा, कहिले–कहिले छ जनप्रदर्शन ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अब निरन्तर आन्दोलनमा होमिने भएको छ । राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि वैशाख ७ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको जानकारीअनुसार वैशाख ७ गतेदेखि आन्दोलनलाई निरन्तरता दिने निर्णय भएको छ ।
चैत १५ गते काठमाडौंमा दुर्गा प्रसाईंले आयोजना गरेको कार्यक्रममा पनि राप्रपा सहभागी हुने उनले जानकारी दिएका छन् । ‘राजसंस्था पुनःस्थापनाका लागि हुने हरेक आन्दोलनमा राप्रपा सहभागी हुन्छ’, उनले भने । यस्तै पार्टीका आन्दोलनलाई बेग्लै अगाडि बढाइने लिङदेनले जानकारी दिए ।
जसअनुसार २६ गते काठमाडौंमा बाग्मती प्रदेशस्तरीय सभा र प्रदर्शन आयोजना गरिने छ । १५ गतेको प्रदर्शनबारे बेग्लै निर्णय नगरिएको लिङदेनले बताए । उनले भने, ‘आजबाट राप्रपा पूर्णरुपमा आन्दोलनमा होमियो ।’