९,२७० मतदाता रहेको पीएन क्याम्पसमा २,८९७ मात्रै खस्यो मत


२०८१ चैत १० आइतबार २१:०६ बजे

पोखरा । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा ६८.७५ प्रतिशत विद्यार्थी अनुपस्थित भएका छन् । कुल नौ हजार २७० मतदातामध्ये निर्वाचनमा दुई हजार ८९७ जना मात्र मतदानमा सहभागी भएका छन् । कुल मतदातामध्ये खसेको मत ३१.२५ प्रतिशत हुन आउँछ । निर्वाचनमा प्रत्यक्षतर्फ दुई हजार ८९६ र समानुपातिकतर्फ २८९२ मत खसेको हो ।

पिएनमा ०६५ सालपछि स्ववियु निर्वाचन भएको हो । १६ वर्षपछि भएको निर्वाचनमा मत भने निकै कम खसेको हो । पिएनको इतिहासमा स्ववियु निर्वाचनमा खसेको मत हालसम्मकै कम हो । यसअघि ५ चैतका लागि तय भएको निर्वाचनमा समानुपातिकतर्फको मतपत्रमा अखिल छैटौंको चुनाव चिह्न छुटेका कारण रोकिएको थियो । त्यसपछि ६ चैतका लागि निर्वाचन तय भएको थियो । ६ चैतका लागि निर्वाचन तय भएकोमा संयुक्त प्यानलसहित अखिल छैठौ र नयाँ शक्ति विद्यार्थी युनियनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि पुनः दोस्रोपटक निर्वाचन रोकिएको थियो ।

दोस्रो पटक निर्वाचन रोकिएपछि ७ चैतमा बसेको स्ववियु निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचनमा भाग लिएका विद्यार्थी संघ, संगठन र स्वतन्त्र उम्मेदवारबिच भएको सर्वपक्षीय बैठकले १० चैतमा निर्वाचन गर्ने निर्णय गरेका थिए । सोहीअनुसार आइतबार शान्तिपुर्ण निर्वाचन सम्पन्न भएको हो । मतदानका लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको स्ववियु निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए । निर्वाचनमा सभापति पदमा लागि राजनीतिक दलको भातृ संगठनका ६ र दुई स्वतन्त्रसहित आठ जनाले उम्मेदवारी दिएका थिए । 

सभापतिको उम्मेदवारमा एमाले निकट अनेरास्ववियुबाट विष्णु पोखरेल, कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीबाट नवीन अधिकारी, एकिकृत समाजवादी निकट अखिल समाजवादी, नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु र नेकपा विप्लव निकट अखिलको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ र अखिल छैठौंबाट मिलन सुनार, स्वतन्त्र उम्मेदवार दिनेमा विप्लवी न्यौपाने र कमल सुवेदी रहेका थिए । समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य)का उम्मेद्वार पनि चुनावी मैदानमा थिए । 

पृथ्वीनारायण सबै भन्दा धेरै विद्यार्थीहरु अध्ययन गर्ने क्याम्पसको रुपमा चिनिन्छ । हाल क्याम्पसमा १२ हजार ५०० विद्यार्थी अध्य्यनरत छन् । विद्यार्थी संख्यासँगै त्रिविअन्तर्गत देशकै ठूलो आङ्गिक क्याम्पसको रुपमा समेत रहेको पृथ्वीनारायणमा ०६५ सालपछि स्ववियु निर्वाचन हुन सकेको छैन । विवादका कारण यस अघि ०७३ र ०७९ सालमा क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको हो । ०७३ सालमा विद्यार्थी संगठनबिचको विवादका कारण र ०७९ सालमा उम्मेदवार र निर्वाचनको विषयलाई लिएर अदालतसँगै निर्वाचन समितिमा परेको उजुरी एवं विवादका कारण निर्वाचन हुन नसकेको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७