बागलुङका सात सडक कालोपत्र, कुनमा कति बजेट ?


२०८१ चैत ४ सोमबार १६:०५ बजे

बागलुङ । चालु आर्थिक वर्षमा बागलुङका सात वटा सडकमा कालोपत्र सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वधार विकास कार्यालयमार्फत छिमेकी जिल्ला र अन्तरपालिका जोड्ने सडकमा कालोपत्र थालिएको हो । 

यस वर्ष मालढुङ्गा–पाक्जा, बुर्तिबाङ–तमानखोला, मजुवा–नेपाने, जैमिनी रिङरोड, कुश्मिशेरा–बरेङ पहिलो खण्ड, गल्कोट– हरिचौर–हिल–म्याग्दी र कुश्मिशेरा–बरेङ दोस्रो खण्ड कालोपत्र गर्न थालिएको पूर्वधार विकास कार्यालय बागलुङका सूचना अधिकारी दीपेस रिगलले जानकारी दिए । यी सडकमध्ये अधिकांश बहुवर्षे योजनाअन्तर्गत रहेको उनको भनाइ छ ।

उनका अनुसार बुर्तिबाङ–तमानखोला सडकको १० किलोमिटर कालोपत्र गर्नका लागि एसी कन्स्ट्रक्सनले रु १२ करोड ७४ लाखमा सम्झौता गरिसकेको छ । आगामी विसं २०८३ मा सक्ने गरी गत साउनमा सम्झौता भएको रिगलले जानकारी दिए । अहिले उक्त सडकको विभिन्न ठाउँमा सडक फराकिलो बनाउने, नाली निर्माणलगायतका काम भइरहेको उनको भनाइ छ ।

कुश्मिशेरा–बरेङ सडकअन्तर्गत पहिलो खण्डमा यसवर्ष १० किलोमिटर सडक कालोपत्र हुन थालेको छ । एमएस-क्याराभान कन्स्ट्रक्सन जेभीले रु २४ करोड ५८ लाख ५७ हजार ८१७ मा जिम्मा पाएको थियो । विसं २०८१ चैत ३० गते सक्ने गरी विसं २०७६ असोज २८ गते सम्झौता गरे पनि हालसम्म ५७ प्रतिशत मात्रै काम भएको छ । निर्माण कम्पनीले तीव्र गतिमा काम गरे म्याद थप गर्न सकिने सूचना अधिकारी रिगल बताउँछन् ।

त्यस्तै गल्कोट–हरिचौर–हिलहुँदै म्याग्दी जोड्ने सडक पनि यस वर्ष कालोपत्र हुँदैछ । कालोपत्र गर्नका लागि २८ करोड १५ लाख सात हजार लागतमा एमएस एपेक्स-खड्का कृष्ण जेभीले जिम्मा पाएको रिगलले जानकारी दिए । विसं २०७६ कात्तिक २७ गते सम्झौता भएको उक्त सडक यही चैत २९ गते सकिनु पर्नेछ । कुश्मिशेरा–बरेङ सडकको दोस्रो खण्डअन्तर्गत यसवर्ष १० किलोमिटर कालोपत्र गरिँदै छ । एम-एनएस-आरबी जेभीले रु ११ करोड ४९ लाखमा जिम्मा पाएको छ । गत असार १२ गते सम्झौता भएको उक्त सडक विसं २०८३ असारमा सक्ने गरी काम भइरहेको रिगलले जानकारी दिए ।

गलकोटस्थित मजुवा–नेपाने सडक कालोपत्र गर्नका लागि पनि सम्झौता भइसकेको उनको भनाइ छ । यस वर्ष १२ सय मिटर सडक कालोपत्रका लागि रु दुई करोड १३ लाखमा सम्झौता भएको रिगलले जानकारी दिए । गत जेठ १८ गते सम्झौता भएको उक्त सडक आगामी असार मसान्तमा सकिने गरी काम भइरहेको उनी बताउँछन् । जैमिनी रिङरोड पनि यस वर्ष कालोपत्र हुँदैछ ।

करिब एक किलोमिटर कालोपत्र गर्नका लागि केबीसी-एसी जेभीले रु तीन करोड २० लाखमा सम्झौता गरेको भन्दै आगामी असार मसान्तमा सकिने उनले बताए । बागलुङ नगरपालिकाअन्तर्गत मालढुङ्गा–पाक्जा सडकअन्तर्गत यसवर्ष करिब एक किलोमिटर सडक कालोपत्र हुँदैछ । जसका लागि रु ४० लाखमा ओम मल्टी विल्डर्सले जिम्मा लिएको भन्दै असार मसान्तसम्म सक्ने गरी काम गरिरहेको रिगलले जानकारी दिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७