सोलुखुम्बुमा हावाहुरीको वितण्डा


२०८१ चैत ४ सोमबार १६:०६ बजे
फाइल फोटो

सोलुखुम्बु । ‘खै के हुनलाई यस्तो भएको हो, यो सालको जस्तो बतास चलेको मलाई अहिलेसम्म थाहा थिएन्, हावाले घरहरु त परको कुरा रुखहरु नै जराबाटै पल्टिन थाल्यो ! डाँडाहरु हावाले फुकेर फुङ्ग हुँदै गएको छ, यस्तो हुनु राम्रो होइन’, यहाँको सोलुदुधकुण्ड नगरपालिका–७ गार्माकी ७१ वर्षीया जाङ्बु शेर्पाले आश्चर्यमिश्रित भावमा भने । 

विगतमा सामान्य हावा चल्ने भए पनि यस पटक सोलुखुम्बुमा अस्वाभाविक गतिमा हावा चलेको अनुभव स्थानीयको छ । हावाका कारण सगरमाथा क्षेत्रको थामेदेखि सदरमुकाम सल्लेरीसहित सोताङ आसपासमा घर, विद्यालय जस्ता संरचनाहरुमा ठूलो क्षति पुगेको छ । 

दुई महिनामा २६ घटना
जिल्ला प्रहरी कार्यालयको  तथ्याङ्कअनुसार गत माघदेखि चैत ३ गतेसम्ममा हावाहुरीका कारण जिल्लामा २६ वटा घटना भएका छन् । जसमा २० वटा निजी घर तथा संरचना, तीन वटा विद्यालय भवन, दुई वटा धार्मिक संरचना र एउटा सरकारी संरचनामा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिकामा सबै भन्दा बढी १४ वटा भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

जसमा १० वटा निजी घर तथा संरचना, दुई वटा गुम्बा, सीमा प्रशासन कार्यालय नाम्चेको कार्यालय रहेको सरकारी संरचना र एक विद्यालय भवनमा क्षति पुगेको छ । सोलुदुधकुण्ड नगरपालिकामा एक विद्यालय भवन र सात निजी घर गरी आठ वटा र सोताङ गाउँपालिकामा एक विद्यालय भवन र तीन घरमा गरी चार वटा संरचनामा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । 

‘अघिल्ला वर्षहरुमा यस वर्षको जस्तो ठूलो हावाहुरीले क्षति पुर्‍याएको देखिएन, यो वर्ष त माघदेखि जिल्लामा हावाहुरीले ठूलो मात्रामा क्षति पुर्‍याउन थालेको छ’, प्रनाउ घिमिरेले भने । हावाहुरीका कारण कतिपय स्थानमा रुखहरु जरा पल्टिएर ढलेका छन् भने सल्लेरी, गार्मालगायतका क्षेत्रमा ढलेको रुखका कारण हाइटेन्सन लाइनमा क्षति पुग्दा बारम्बर विद्युत सेवा अवरुद्ध हुने गरेको छ । 

लाइन विस्तार भएका क्षेत्रमा रुखहरु ढल्ने कारण सदरमुकामसहितका क्षेत्रमा धेरै पटक विद्युत् सेवा अवरुद्ध भइरहेको सल्लेरी च्याल्सा विद्युत् कम्पनी लिमिटेड सोलुखुम्बुका महाप्रबन्धक भोजराज तिवारीले बताए । हावाका कारण बाहिर हिँड्डुल गर्न तथा विद्यार्थीलाई विद्यालय जान जोखिम हुने गरेको छ । घरका छानोहरु उडाउने तथा बाटो आसपासका रुखहरु ढलेर दुर्घटना निम्तने जोखिम उच्च भएको गार्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोदसिं तामाङले बताए। जसलाई मध्यनजर गरी स्थानीय प्रशासनले सूचना नै जारी गरेको छ । तीव्र गतिको हावा निरन्तर चलिरहेकाले मानवीय क्षति हुन नदिन सचेतनामूलक सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए । 

जलवायु परिवर्तनको गम्भीर असर : विज्ञ
विज्ञहरुका अनुसार यसरी तीव्र्र गतिमा अस्वाभाविक हावाहुरी चल्नु जलवायु परिवर्तनको गम्भीर असर हो । जलवायु विज्ञ तथा सगरमाथा संवादका विज्ञ सदस्य डा. धर्मराज उप्रेतीका अनुसार स्थानीय मौसमी प्रणालीहरू पर्वतीय भूभाग भएका क्षेत्रमा स्थानीय मौसमी प्रणालीको विकास हुन सक्छ । जसले तीव्र हावाहुरी निम्त्याउन सक्ने डा. उप्रेतीको भनाइ छ । हिमाली क्षेत्रमा तापक्रमको तीव्र उतारचढावले हावाको चापमा परिवर्तन गराई तीव्र गतिको हावाहुरी सिर्जना  भइरहेको उनले बताए । 

डा. उप्रेतीले भने, ‘वैश्विक तापमान वृद्धिका कारण मौसम प्रणालीहरूमा अस्थिरता बढ्दै गएको छ, जसले गर्दा अनियमित र तीव्र हावाहुरीजस्ता घटनाको आवृत्ति र तीव्रता बढेको हो, यो पृथ्वीका लागि गम्भीर खतराको संकेत हो । मुख्यतः यो जलवायु परिवर्तनकै असर हो ।’ 

नेपालमा प्रायः यस बेला पश्चिमी वायु प्रणालीको प्रभावले हावाहुरी र वर्षा हुने गर्दछ । यदि यस्तो प्रणाली सक्रिय छ भने सोलुखुम्बुमा तीव्र हावाहुरीको सम्भावना बढ्न सक्ने जलवायु जानकार डब्लूडब्लुएफका राष्ट्रिय कार्यक्रम प्रबन्धक राजन थापा बताउँछन् । पृथ्वीमा हावा चल्नुको मुख्य कारण सूर्यको ताप, वायुदाबको भिन्नता, पृथ्वीको घुमाइ र स्थल तथा जलका गुणहरू हुन् । वायुदाबको भिन्नता भन्नाले पृथ्वीको विभिन्न स्थानमा वायुमण्डलद्वारा पारिएको हावाको चापमा हुने फरक हो । यी कारकले मिलेर पृथ्वीको वायुमण्डलमा हावाको गति सिर्जना गर्ने थापाले बताए । 

जलवायु परिवर्तनको असरले गर्दा हिमाली भेगको जमिन अत्यधिक  तातिरहेको छ जसले हावाको वेगमा परिवर्तन आएको हुन सक्ने थापाको भनाइ छ । उनले भने, ‘पृथ्वी पश्चिमबाट पूर्वतर्फ घुम्ने भएकाले हावाको दिशा पृथ्वीको घुमाइले प्रभाव पार्छ । जलवायु परिवर्तनको कारणले पृथ्वीको घुमाइलाई असर पारेको छ भने हिमाली भेगमा हावाको गति अस्वाभाविक हुन सक्छ । यो गम्भीर अध्ययनको विषय हो । यो असर भोलीका दिनमा बढ्न सक्छ, जसका लागि पुर्वसूचना प्रणाली जडान गर्नुपर्छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७