आइजीपी कुँवरसहित नौं उच्च प्रहरी अधिकारी एकसाथ आजदेखि सेवा निवृत्त हुँदै


२०८१ चैत ४ सोमबार १६:०६ बजे

काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवरसहित नौं जना उच्च प्रहरी अधिकारी आज (सोमबार) देखि एकसाथ सेवा निवृत्त हुँदैछन् । २०७९ चैत १० गते आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका हुन् । 

कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि अवकाशमा जाँदैछन् । उनीहरूकै ब्याचमेट डीआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि आजैदेखि अवकाश हुन लागेका छन् । 

टेकप्रसाद राई कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएर आईजीपीको प्रतिस्पर्धामा थिए । सो ब्याचका श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले यसअघि नै अवकाश पाइसकेका छन् ।  जनक भट्टराई केही दिनअघि मात्र एआईजीमा बढुवा भएका हुन् ।

अवकाशमा जान लागेका डीआईजी गणेश चन्द सुदूरपश्चिम प्रदेशको प्रमुख छन् । भोला रावल गण्डकी प्रदेशको प्रमुख छन् । रावल आइतबार नै गण्डकी प्रदेश प्रहरी कार्यालयबाट बिदा भएर काठमाडौँ आएका छन् । कुँवरसहितका उच्च अधिकारीहरु अवकास भएसँगै अब प्रहरीमा उनीहरुकै वैकल्पिक टोलीले कमाण्ड गर्ने भएको छ ।

को आउँलन् नयाँ आईजीपी ?
कुँवरको अवकाशसँगै नेपाल प्रहरीको ३१ औ आईजीपी को होलान् भन्नेबारे चासोको विषय बनेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कुँवरलाई वरियताको आधारमा आईजीपी नियुक्त गरेको थियो । कुँवर वरीयता सूचीको १ नम्बरमा थिए । नयाँ प्रहरी ऐन आउन ढिला हुने र ३० वर्षे नहट्ने भएसँगै आईजीपी कुँवरलाई सोमबार प्रहरी प्रधान कार्यालयबाट बिदाइ कार्यक्रम राखिएको छ । 

आईजीपीको नियुक्तिबारे निर्णय गर्न सोमबार नै मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ । प्रहरीको ३१ औं आईजीपी बन्न तीन जना अतिरिक्त महानिरीक्षकहरू प्रतिस्पर्धामा छन् । प्रहरी अतिरिक्त महानिरीक्षकहरू दीपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ आईजीपीको प्रतिस्पर्धी हुन् । थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख हुन् । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् ।  

२०५२ भदै १९ गते प्रहरी सेवामा प्रवेश गरेका उनीहरूमध्ये दीपक थापा २०७९ चैत ६ मा वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । पछि कुँवर आईजीपी भए । सुदीप गिरी र टेकबहादुर तामाङ २०७९ चैत २४ मा एआईजीमा बढुवा भएका हुन् । उनीहरू १८ दिन ढिला बढुवा भएका थिए । वरीयता सूची अनुसार पहिलो नम्बरमा थापा, दोस्रोमा गिरी र तेस्रोमा तामाङ छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७