अमेरिकामा भीषण आँधी : हालसम्म कम्तिमा ३२ जनाको मृत्यु

काठमाडौं । अमेरिकाका विभिन्न राज्यमा आएको भीषण आँधीका कारण हालसम्म कम्तिमा ३२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मिजौरी राज्यमा मात्र १२ जना रहेको प्रहरीले जनाएको छ । भीषण र ध्वंसात्मक आँधीले दक्षिण–पूर्वी राज्यहरूमा व्यापक क्षति गरेको थियो । बाटोमा नै गाडीहरू पल्टिएका छन् भने घरहरू ध्वस्त भएका छन् ।
टेक्सासमा धुलो र आँधीका कारण भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ओक्लाहोमा र अर्कान्ससमा पनि मानिसहरुको मृत्यु भएको छ । शनिबार दिउँसोसम्म टेक्सास, मिजौरी, इलिनोइसलगायत ६ वटा राज्यमा २ लाख ४० हजारभन्दा बढी घरधुरी विद्युतविहीन भएका छन् ।
त्यो क्षेत्रमा अझै भयानक आँधीको सम्भावना रहेको जनाइएको छ । जसअनुसार मध्य मिसिसिपी, पूर्वी लुजियाना र पश्चिमी टेनेसीमा जोखिम उच्च रहेको र सतर्कता अपनाउन अपिल गरिएको छ । ती तीनवटा राज्यका साथै अलाबामा र अर्कान्ससका केही भागहरूमा आकस्मिक बाढी आउन सक्ने चेतावनी जारी गरिएको छ । किनभने खराब मौसम दक्षिण–पूर्वी क्षेत्रभरि फैलिएको छ ।
राष्ट्रिय मौसम सेवाले (एनडब्लुएस) ले आकस्मिक बाढीहरू घातक हुन सक्ने चेतावनी दिएको छ । शनिबार बिहान मध्य मिसिसिपीमा सबैभन्दा उच्च स्तरको खतराको चेतावनी पनि जारी गरिएको छ । एनडब्लुएस ले ती क्षेत्रमा धेरै ठूला र विनाशकारी आँधीहरुले ठुलो क्षति निम्त्याउने चेतावनी दिएको छ ।
मौसमविद्हरूले सचेत गराउँदै भनेका छन् ‘यदि तपाई ती क्षेत्रमा हुनुहुन्छ भने, सबैभन्दा सुरक्षित तथा बलियो संरचनाभित्र बस्नुहोस् र आँधी पार नहुन्जेल त्यहीँ सुरक्षित रहनुहोस् ।’ मिजौरीका गभर्नर माइक केहोले राज्य भीषण आँधीका कारण तहसनहस पारिएको बताउँदै, थुप्रै घरहरू ध्वस्त भएको र मानिसहरुले ज्यान गुमाउनु परेको बताए । जोर्जियाका गभर्नर ब्रायन केम्पले पनि राज्यमा आउने भीषण मौसमको पूर्वानुमान गर्दै आपतकाल घोषणा गरेका छन् । मौसम पूर्वानुमानका अनुसार, भयानक जोखिम आइतबारसम्म अलाबामा, फ्लोरिडा र जोर्जियासम्म फैलिन सक्ने छ ।