साहित्यकार लीलबहादुर क्षेत्रीको निधन


२०८१ चैत १ शुक्रबार १६:५९ बजे

काठमाडौं । प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । नेपाली भाषाका उपन्यासकार तथा पद्मश्री सम्मानबाट विभूषित साहित्यकार क्षेत्रीको ९४ वर्षको उमेरमा बिहीबार राति साढे १० बजे गुवाहाटीस्थित घरमा निधन भएको छ । नेपालीभाषी भारतीय साहित्यकार रूद्र बरालले सामाजिक सञ्जालमार्फत क्षेत्रीको निधन भएको जानकारी दिएका छन् ।

क्षेत्रीको निधनसँगै नेपाली साहित्यको एक युगको अन्त्य भएको भारतीय नेपाली साहित्यकारहरुले प्रतिक्रिया दिएका छन्।भारतको असममा जन्मिएका उनको ‘बसाइँ’ उनको चर्चित उपन्यास हो । सात दशक लामो साहित्य यात्रामा उनले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार पाउन सफल भएका छन् । साहित्यकार क्षेत्रील ‘दियालो पुरस्कार’, पश्चिम बङ्गालको ‘भानु’ पुरस्कार प्राप्त गरेका छन् ।  

‘ब्रह्मपुत्रका छेउछाउ’ उपन्यासले  साहित्य अकादमी पुरस्कार प्राप्त  गर्न  सफल बनेको थियो । उनी सन् २०२० मा पद्मश्री पुरस्कारले सम्मानित भएका थिए । उनका ‘अतृप्त’, ‘प्रतिध्वनिहरु विस्मृतिको’, ‘असममा नेपाली भाषाको साह्रोगाह्रो’, ‘तीन दशक बीस अभिव्यक्ति’ लगायतका आख्यान र गैरआख्यान प्रकाशित छन् । उपन्यास, कथा, निबन्ध, समीक्षासहित डेढ दर्जन कृतिका सर्जक क्षेत्रीले नेपालबाट भाषा–साहित्यको अथक योगदानका निम्ति २०७२ सालमा जगदम्बा पुरस्कार पाएका थिए । उनका श्रीमती, दुई छोरा र छोरी छन् ।

असममा जन्मिर सिलाङमा बाल्यकाल बिताएका उनको पढाइ बङ्गला, नेपाली र अङ्ग्रेजी माध्यममा भएको थियो ।उनले गुवाहाटी विश्वविद्यालयबाट अर्थनीतिमा स्नातकोत्तर गरेर गुवाहाटीकै आर्यविद्यापीठ कलेजमा अध्यापन गरे । विद्यालयमै पढ्दादेखि साहित्य साधनामा लागेका क्षेत्रीको पहिलो प्रकाशित कविता ‘शिवस्तुति’ १६ वर्षको उमेरमा प्रकाशित भयो भने पहिलो उपन्यास ‘बसाइँ’ २४ वर्षको उमेरमा सन् १९५७ मा प्रकाशित भएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७