प्रेस चौतारी प्रतिष्ठान प्रदेशको अध्यक्षमा ढुङ्गेल

काठमाडौं । प्रेस चौतारी प्रतिष्ठान प्रदेशको अध्यक्षमा सरोज ढुङ्गेल पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। चौतारी प्रतिष्ठान प्रदेशको आज सम्पन्न दोस्रो अधिवेशनले ढुङ्गेलको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा अर्जुन सापकोटा र शर्मिला थापा, महासचिवमा रमेश लामिछाने, कोषाध्यक्षमा जश्विन थापा, छ जना सचिवमा क्रमशः पुरुषोत्तम घिमिरे, विन्दु शर्मा, महेश निरौला, शेखर चौलागाईं, सविना चेपाङ र परमानन्द राय निर्वाचित भएका छन् । कार्यक्रममा नेकपा (एमाले) जनसङगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले व्यावसायिक र मर्मादित पत्रकारितामा लाग्न पत्रकारहरुलाई आग्रह गरे ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पत्रकारिताको मूल्य र मान्यतालाई आत्मसात गर्दै पत्रकारले सांगठनिक क्रियाकलापमा सक्रिय भएर लाग्नुपर्ने बताए । कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पत्रकारले आफ्नो लेखन शैलीलाई समयानुकूल परिमार्जन गरी सांगठनिक गतिविधिमा लाग्नुपर्नेमा जोड दिए ।