शिक्षकको नेताले आफ्नो विद्यालय राम्रो बनाउन लाग्नु पर्छ : महासचिव पोखरेल


२०८१ फाल्गुण २८ बुधबार ००:१४ बजे
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शिक्षा ऐन अहिलेकै संसदको अधिवेशनबाट जारी गर्ने गरी सरकारले काम अगाडि बढाएको बताएका छन् । 

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज नेपाल शिक्षक महासंघले आयोजना गरेको धर्ना कार्यक्रममा महासचिव पोखरेलले शिक्षासँगै अड्किएका कानुन चाँडै ल्याउनका लागि देशका दुई प्रमुख पार्टी मिलेर सरकार बनाएको बताए । ‘राज्यले शिक्षकको मागलाई ध्यानमा राखेर, संविधानको भावनालाई आत्मासात गर्दै शिक्षा ऐन जारी गर्छ, यो विषयलाई यही सदनमा टुङ्ग्याउन पाए हुन्थ्यो भनेर हामी आफै लागिरहेका छौँ’, उनले भने । 

महासचिव पोखरेलले शिक्षा ऐनमा समेट्ने विषयमा एकमत बनाउन लागि शिक्षक महासंघको सहयोग पनि आवश्यक रहेको बताए । उनले शिक्षकहरूको नेतृत्वमा बस्ने नेताले आफ्ना विद्यालय पनि राम्रो बनाउन लाग्नुपर्ने भनाइ राखे । उनले नेपालमा राजनीतिक दलले शिक्षामा समस्या ल्याए भन्ने गलत कुरा भइरहेको भन्दै अहिले शिक्षा क्षेत्रमा भएको विकास राजनीतिको योगदान हो भन्ने कुरा बिर्सन नहुने बताए ।

महासचिव पोखरेलले परम्परागत शिक्षा प्रणालीलाई उद्यमशीलता र जीवन जिउने शिक्षामा परिवर्तन गर्न आवश्यक रहेको भनाइ राखे । उनले नेपालको शिक्षाले अब सीपयुक्त र व्यावहारिक जनशक्ति उत्पादन गर्नुपर्ने भन्दै शिक्षाले नागरिक कर्तव्यसहितको जनशक्ति उत्पादन गर्नुपर्ने बताए । कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष लक्ष्मणकिशोर सुवेदीले शिक्षक र कर्मचारी हितमा चाँडै शिक्षा ऐन जारी गर्नुपर्ने बताए ।

उनले ऐन जारी गर्नका लागि राजनीतिक दललाई दबाब दिनका लागि धर्ना कार्यक्रम राखिएको बताए । महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत यही फागुन २७ गतेदेखि चैत ५ गतेसम्म शिक्षा ऐन जारी गर्न र विद्यालय शिक्षा विधेयक अघि बढाउनका लागि प्रमुख राजनीतिक दलका कार्यालयमा प्रतिनिधिमूलक धर्ना दिइरहेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७