निषेधको राजनीति छोडेर नयाँ समझदारीमा आउन दलहरुलाई राप्रपाको आह्वान
राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको निष्कर्ष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम सफल भएको भन्दै आमनागरिकप्रति कृतज्ञता व्यक्त गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि जारी विज्ञप्तिमा स्वागतमा विशाल उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता प्रमाणित भएको पार्टीको निष्कर्ष रहेको उल्लेख छ ।
यस्तै, पार्टीले सञ्चालन गर्ने आन्दोलनलगायत विविध विषयमा छलफल गर्न आगामी चैत ३ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय भएको पनि विज्ञप्तिमा जनाइएको छ । बैठकले आमराजनीतिक दललाई निषेधको राजनीति छोडेर नयाँ समझदारीमा आउन पनि आह्वान गरेको छ । स्वागतमा विशाल उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको पार्टीको निष्कर्ष छ ।
‘आम नागरिकको चाहना, देशको आवश्यकता, सडकमा प्रतिबिम्वित जनभावना अनुरुप मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’ गर्न राप्रपा सबै राजनीतिक दललाई आह्वान गर्दछ । यसका लागि आवश्यक संवादको थालनी गर्न समेत राप्रपा सबै राजनीतिक दललाई आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ । पार्टीले सञ्चालन गर्ने आन्दोलन लगायतका विविध विषयमा छलफल गर्न ०८१ चैत ३ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय राप्रपाले गरेको छ ।