कांग्रेसले एक्लै बहुमत प्राप्त गर्न सक्छ : सभापति देउवा

धनगढी । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकताबद्ध भए कांग्रेसले बहुमत प्राप्त गर्न सक्ने बताएका छन् । उनले सुदूरपश्चिम प्रदेशबाटै पार्टीलाई बहुमत ल्याउन काम सुरू गर्न आग्रह पनि गरे ।
आज (सोमबार) धनगढीमा आयोजित पार्टीको सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलनमा बोल्दै सभापति देउवाले भने, ‘एक हुन सकेको खण्डमा हाम्रो पार्टीले एक्लै बहुमत प्राप्त गर्न सक्दछ । त्यसकारण मतभेद, प्रतिस्पर्धा र आपसी असमझदारीलाई एक पाटोमा राखेर पार्टीलाई एक गर्न आग्रह गर्दछु । सुदूरपश्चिमबाटै बहुमत प्राप्त गर्ने कामको सुरूवात होस् ।’
सभापति देउवाले अहिलेको अवस्थामा एक्लै बहुमत ल्याउन भने गाह्रो रहेको बताए । तैपनि कांग्रेस ठूलो पार्टी रहेको उनको भनाइ छ । कांग्रेस र एमालेबीच सहमतिअनुसार केपी शर्मा ओलीपछि आफू प्रधानमन्त्री बन्ने देउवाको भनाइ छ। ‘हाम्रो मुख्य प्रतिस्पर्धी पार्टी एमाले हो भने एमालेको मुख्य प्रतिस्पर्धी हामी हौं,’ उनले भने, ‘प्रतिस्पर्धा एक ठाउँमा राखेर हामी मिलेर काम गरिरहेका छौं ।’