स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयन पत्र वितरण गरिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी संगठन दर्ता गराएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।
उनले आज मनोनयन पत्र वितरण गरिएका उम्मेदवारले भोलि फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको बताए । उनले सबै संगठनका उम्मेदवारले मनोनयन पत्र लगेको बताए। अनेरास्ववियुका अध्यक्ष समिक बडालले निर्वाचनका लागि आफ्नो संगठनले सबै क्याम्पसमा मनोनयन पत्र लगेको जानकारी दिए ।
नेपाल विद्यार्थी संघका प्रवक्ता सुरज सेजुवालले सबै क्याम्पसबाट उम्मेदवारीका लागि मनोनयनपत्र लगेको बताए। अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव रोशन मगरले सबै क्याम्पसमा आफ्नो संगठनको उम्मेदवारी दर्ता गराउने बताए । स्ववियु निर्वाचन एकै दिन चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने छ । निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।