अब राजनीतिक ध्रुवीकरण आवश्यक : महासचिव पोखरेल

बागलुङ । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रमा भरोसा गर्ने पार्टीहरू देश र लोकतन्त्रप्रति चुनौती आउँदा एक ठाउँमा उभिनु स्वाभाविक भएको बताएका छन् ।
नेकपा एमाले बागलुङद्वारा आयोजित वडा केन्द्रित अभियानको अभिमुखीकरण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले कांग्रेस र एमाले मिल्नुको उद्देश्य राजनीतिक अस्थिरता अन्त्य गर्नको लागि भएको बताए । ‘चुनौतीलाई सामना गर्न लोकतन्त्रमा विश्वास गर्ने दलहरू मिल्नु स्वाभाविक थियो, हामी अहिले मिलेका छौं’, उनले भने ।
नेता र पुराना पार्टीलाई गाली गर्नु भन्दा पनि पुराना पार्टीलाई काम गर्ने अवसर दिनु पर्ने बताए । जसले आन्दोलनको नेतृत्व गरे ती राजनीतिक दलले देशमा सरकार चलाउन नै नपाएका उनको भनाइ छ । ‘यो मुलुक राजतन्त्रको अकर्मण्यताको कारणले पछाडि पर्यो, उसको स्वार्थी व्यवहारको कारण आज हाम्रो मुलुक पछाडि पर्यो’, पोखरेलले भने ।
अहिले एउटा स्वार्थी जमात फेरि राजा आऊ देश बचाउ भन्दै नारा लगाएर हिँडेको पोखरेलले बताए । जुन राजाले यो मुलुकलाई यो हालतमा पुर्यायो, फेरि राजा आऊ देश बचाउ भन्ने मुर्खहरू भएका उनको टिप्पणी छ। नेपालमा हिंसात्मक राजनीतिलाई अगाडि बढाउने कुरामा राजतन्त्रको पनि हात रहेको उनले बताए । माओवादीलाई राजतन्त्रले उक्साएर राजनीतिक दलहरू विरुद्ध प्रयोग गरिएको उनले बताए । नेपाली राजनीतिलाई हिंसामा होम्ने र जातजातिका नाममा अस्थिरता मच्चाउने काम राजतन्त्रको आडमा माओवादीले गरेको उनको भनाइ छ ।
नेपालमा नीतिका आधारमा अब राजनीतिक ध्रुवीकरण आवश्यक रहेको उनले बताए । देशलाई अब दुई ध्रुवमा विभाजित गर्नुपर्ने र त्यसको लागि बलिया दुई राजनीतिक दल आवश्यक रहेको उनको धारणा छ । देश बनाउने हो भने आँट र सामथ्र्य भएको नेता आवश्यक पर्ने उनले बताए । त्यो आँट र सामथ्र्य नेकपा एमालेका अध्यक्ष एवं वर्तनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको पोखरेलले दाबी गरे ।