उर्जामन्त्रीको प्रश्न : कुलमान कानुन भन्दा माथि हो ?

‘कूलमानले बोलेको भरमा प्राधिकरण नाफामा छ भनेर मानिदिनु पर्ने ?’


१८:५६ बजे

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले कार्यसम्पादन मूल्याङ्कन फाराम नै नभरेका कारण शून्य अंक पाएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री खड्काले पुसमा एकैचोटी मेरो यति अंक आएको छ भनि कुलमानले मन्त्रालयमा नम्बर बुझाएको बताए ।

जाँचमा भाग नै नलिने विद्यार्थीले आफूले आफैंलाई नम्बर दिन मिल्छ कि मिल्दैन भनेर उनले प्रश्न गरे । ‘विद्यार्थी जाँचमा नै अनुपस्थित भएपछि कति नम्बर पाउँछ ? मलाई भनिदिनु पर्‍यो’, उनले भने । खड्काले कुलमानलाई ०७८ साउन २७ मा नियुक्ति गर्दा नै कार्यसम्पादनका आधारमा पुरस्कृत कि निष्काशन हुने भन्ने तोकिएको बताए । ‘नियुक्ति गर्दा नै हरेक वर्ष कार्यसम्पादन मूल्यांकन गर्ने, त्यसका आधारमा पुरष्कृत गर्ने कि निष्काशन गर्ने भन्ने उल्लेख भएको रहेछ’, उनले भने ।

कूलमानले उठ्न बाँकी बक्यौता महसुललाई समेत नेपाल विद्युत् प्राधिकरणको नाफा भनेर जोडेको उनले सुनाए । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेका आयोजनामा कति खर्च भयो भन्ने अभिलेख समेत प्राधिकरणसँग नरहेको उनले बताए । कूलमानले बोलेको भरमा विद्युत् प्राधिकरण नाफामा छ भनेर मानिदिन सकिने स्थिति नभएको उनले स्पष्ट पारे । 

कुलमानले सरकारका कुनै पनि अनुरोधलाई नटेरेका खड्काले बताए । कूलमानले प्राधिकरणको नाफा यकिन गर्न नै नदिएको उनको भनाइ छ । कूलमानले देशलाई लोडसेडिङमुक्त गरेको भन्नेलाई भारतबाट ४५० मेगावाट विद्युत् ल्याएर नेपाललाई लोडसेडिङ मुक्त गरिएको कुरा नबिर्सन आग्रह गरे । केपी प्रधानमन्त्री हुँदा भारतको बिजुली किन्ने कुराको निर्णय भएको उनले स्मरण गराए । कूलमानले कसैका कुरा पनि नसुन्ने र सरकार र मन्त्रालयलाई नटेरेका कारण प्रश्न सोधिएको उनले बताए । ‘केही पनि नमान्ने, कसैलाई सन्नै नपर्ने, यस्तो पनि हुन्छ र ?’, उनले भने ।

खड्काले कानुनको पालना नगरेकाले उनलाई शून्य दिइएको बताए । नभए सांसदहरूले ‘उहाँलाई कानुन लाग्दैन भनेर संविधानमा नै लेख्नू’ भनी कटाक्ष गरे।  ‘कि मलाई भनिदिनु पर्‍यो माननीय ज्यूहरूले, कि उहाँ कानुनभन्दा माथि हुनुहुन्छ । उहाँलाई कानुन लाग्दैन। संविधानमा लेखिदिनु पर्‍यो’, उनले भने । अहिलेको व्यवस्थामा कानुनको पालना गर्ने सबैको दायित्व भएको उनको भनाइ छ । श्री ५ र श्री ३ को सरकार मात्रै कानुनभन्दा माथि रहेको उनले बताए । ‘उहाँ उपस्थित नै हुनु भएन, टेर्दै टेर्नु भएन। चिन्दै चिन्नु भएन’, मन्त्री खड्का भन्छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७