सांसद योगेश भट्टराईको प्रस्ताव : सशस्त्र सुरक्षा बल भनौं, प्रहरी शब्द हटाऊँ

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले सशस्त्र प्रहरी बल नेपालको नामाकरणमा सच्याउने प्रस्ताव गरेका छन् । उनले सशस्त्र प्रहरी बल नेपाल नभनेर सशस्त्र सुरक्षा बल नेपाल भन्न सकिने प्रस्ताव गरेका छन् ।
आज (सोमबार) प्रतिनिधिसभामा सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१ माथिको छलफलमा उनले यस्तो बताएका हुन् । ‘हामी यसलाई अर्ध सैनिक बल भनिराख्या छौं भने यो प्रहरी भन्ने शब्द यहाँ मिल्दैन कि !’ उनले भने । यद्यपि, यसलाई संविधानबाट नै हेर्नुपर्ने हुन सक्ने उनले बताएका छन् । ‘यदि हामीले जब अर्ध सैनिक भन्छौं भने यसलाई सशस्त्र सुरक्षा बल नेपाल मात्रै पनि भन्न सकिन्छ’ सांसद भट्टराईको प्रस्ताव छ ।
प्रहरी राख्दा दुई वटा प्रहरी संगठन जस्तो देखिएको उनले बताएका छन् । ‘हामीसँग अर्को प्रहरी संगठन छँदैछ जसले सामुदायिक प्रहरीको रुपमा अथवा अपराधको अनुसन्धानको रूपमा काम गरेको छ । त्यसको एउटा आफ्नो एउटा लामो ७० वर्षदेखिको इतिहास छँदैछ,’ उनले भने । यसकारण पनि सशस्त्र प्रहरी बल नभनेर शसस्त्र सुरक्षा बल भन्दा उपयुक्त हुने उनको आग्रह छ । ‘यसलाई सशस्त्र सुरक्षा बल भनेर राखियो भने यसको भावना ठीक ढंगले प्रतिनिधित्व हुन्छ भन्ने लाग्दछ ।’