सरकार फेर्ने पक्षमा लाग्दैनौं : अध्यक्ष प्रचण्ड


२०८१ फाल्गुण १२ सोमबार २१:१८ बजे

झापा। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार फेर्ने पक्षमा आफूहरु नलाग्ने बताएका छन् । पार्टीले आज झापाको कचनकबलबाट सुरु गरेको ‘जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेकपा माओवादी केन्द्र अब जनतासँग जाने धारणा व्यक्त गरे ।

‘सरकार फेर्ने पक्षमा लाग्दैनौँ, कसरत पनि गर्दैनौं’, उनले भने, ‘हामीले संकल्प गरेर जनतासँगै सहकार्य गरेर अघि बढ्ने अठोट लिएका छौँ ।’ विगतमा नेकपा एमाले र नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्दा पार्टीले जनतासँगको सम्बन्धबाट विमुख हुनुपरेको जनाउँदै उनले हिजोका दिनमा भएका कमी कमजोरीप्रति आत्मालोचना र समीक्षा गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । 

उनले सबै जातजाति तथा भाषाभाषीसँगको सम्बन्धलाई प्रगाढ बनाउन र एकता कायम गर्ने उद्देश्यले जागरण अभियान सुरुवात गरेको बताए । आगामी आम चुनावमा पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै उनले यसअघि माओवादीसँग सहकार्य गरेर एमाले र कांग्रेस ठूलो पार्टी बनेको स्मरण गराए । उनले भने, ‘जुनबेला हामीले उनीहरुसँग सहकार्य ग–यौँ, उनीहरु नै ठूला पार्टी बने । तर, जुनबेला हामी एक्लै चुनाव लडेका थियौँ, त्यसबेला जनताले हामीलाई ठूलो पार्टी बनाएका थिए ।’

झापाका जनताले भोगिरहेको जङ्गली हात्तीको समस्या समाधान गर्न सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको उनले बताए । अध्यक्ष दाहालले चिया किसान र श्रमिकका समस्या समाधान खोज्न पार्टीले अगुवाई गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफू दोस्रो पटक प्रधानमन्त्री भएर झापामा सुरुवात गरेको धान सुपरजोन परियोजना हाल बन्द रहेकोमा चिन्ता व्यक्त गरे । कचनकबलबाट सुरु भएको जनतासँग तराई मधेश जागरण अभियान आगामी चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुने पार्टीका झापा इञ्चार्ज रञ्जित तामाङले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७