‘युएसएआइडी’ का थप सात कार्यक्रम स्थगित

काठमाडौं । नेपालमा अमेरिकी सहयोग नियोग (युएसएआइडी) बाट सञ्चालित थप सात कार्यक्रम स्थगित भएका छन्। अर्थ मन्त्रालयले सोमबार विज्ञप्तर जारी गरेर ती कार्यक्रमहरू स्थगित भएको बताएको छ । अर्थ मन्त्रालयका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, तथ्यांकलगायतका कार्यक्रमहरू स्थगित भएको हो ।
‘अमेरिकी राष्ट्रपतिबाट २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशबमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रमहरू ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको छ ।
त्यस्तै जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीनवटा कार्यक्रमहरू डिजाइनको क्रममा रहेकोमा उक्त आदेशबाट यी कार्यक्रमहरू समेत रोकिएको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ। डिजाइनको क्रममा रहेका कार्यक्रमका लागि सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्त नभएको अर्थ मन्त्रालयले जनाएको छ ।
यसअघि ट्रम्प प्रशासनले एमसीसीसहित संघीयता र जैविक विविधता संरक्षणसम्बन्धी कार्यक्रम रोक्का गरेको थियो।
त्यस्तै अर्थ मन्त्रालयले युएसएआइडीले नेपालमा १९५१ देखि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। ‘नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको छ। अमेरिकी सहयोग नियोगबाट नेपालमा सन् १९५१ देखी निरन्तर रूपमा अनुदान सहायतामार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।