भ्रम नफैलाए हुन्छ, कांग्रेस–एमाले गठबन्धन सरकार कसैले ढाल्न सक्दैन : पोखरेल


२०८१ फाल्गुण १२ सोमबार १९:३६ बजे

हेटौंडा । सत्तारुढ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान गठबन्धनको सरकारलाई कसैले पनि ढाल्न नसक्ने बताएका छन् । आज (सोमबार) हेटौंडामा एमाले मकवानपुरको पूर्ण बैठकलाई सम्बोधन गर्दै पोखरेलले सरकार आज ढल्दै, भोलि ढल्दैछ भनेर भ्रम फैलाउने काम भइरहेको भन्दै एमाले–कांग्रेस गठबन्धनको बलियो सरकारलाई कसैले ढाल्न नसक्ने बताएका हुन । कांग्रेस र एमालेमा बेइमानी पलाए मात्र सरकार ढल्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाई छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले–कांग्रेस दुबै दल इमानदार रहँदासम्म पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नढल्ने जिकिर गरे । पोखरेलले देशमा देखिएको संकट समाधान गर्न र राजनीतिक स्थायित्वको लागि वर्तमान सत्ता समीकरण बनेको स्पष्ट पारे ।

२०७९ को निर्वाचनपछि राजनीतिक अस्थिरतको बिगबिगी चलिरहेको समयमा दुबै दलले आपसमा सहकार्य गरेको उनले उल्लेख गरे । अहिले कांग्रेससँग सत्ता सहकार्य गर्दैगर्दा आगामी चुनावीमा कांग्रेस नै मुख्य प्रतिस्पर्धी दल हो भन्ने कुरालाई नभुल्न पनि उनले कार्यकर्तालाई आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेलाई देशको निर्णायक राष्ट्रिय शक्ति बनाउनु पर्नेमा जोड दिँदै त्यसकै लागि पार्टीले मिसन ८४ अभियानअन्तर्गत अहिले पार्टीको वडा केन्द्रीत तीन महिने जरा अभियान सञ्चालन भइरहेको बताए । उनले जरा अभियानमा सक्रिय भएर लाग्न र हरेक वडा, टोल तथा जनताको घरदैलोमा पुग्न कार्यकर्तालाई निर्देशन दिए ।
उनले अभियानअन्तर्ग बैठक मात्र बसेर नहुने भन्दै बैठकले परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिए ।

नेता पोखरेलले पार्टीले आगामी निर्वाचन ८४ मा केन्द्र, प्रदेश र स्थानीय तहमा बहुमत नल्याए मुलुक फेरि अस्थिरताको भुमरीमा फस्ने बताउँदै अहिलेबाटै पार्टीको कामहरु जनतासँग जोडिने र देखिने गरी गर्न निर्देशन दिए । उनले जनताको मन जिते मात्र मत प्राप्त गर्न सकिने भएकोले जनचाहना बुझेर काम गर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

यसैगरी, वरिष्ठ उपाध्यक्ष पोखरेलले लोकतन्त्रलाई सबल बनाउन पनि एमाले बलियो हुनुपर्ने बताए । एमालेको नेतृत्वलाई बदनाम गराउन विभिन्न तत्वहरु क्रियाशील हुँदा कार्यकर्ता पंक्ती चुप लागेर बस्न नहुने भन्दै पोखरेलले त्यसको डटेर सामान गर्न पनि निर्देशन दिए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीका पूर्वसदस्य शिवहरि बर्तौलासहित करिब दुई दर्जन नेता कार्यकर्तालाई एमालेमा स्वागत गरे । पर्टी प्रवेश कार्यक्रमलाई सहजीकरण गरेका एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले पार्टीको तीन महिने वडा केन्द्रीत जरा अभियानअन्तर्गत पार्टी प्रवेश कार्यक्रम भएको बताए । अभियानअन्तर्गत जिल्लाको १० वटै स्थानीय तहको १०२ वटै वडा कमिटीमा बैठक सञ्चालन भएको र पार्टीको जरा अभियान सक्रिय रुपमा सञ्चालन भइरहेको उपाध्यक्ष लामाले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७